काठमाडौं । यतिखेर विश्वभरका सञ्चारमाध्यममा बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको मृत्युदण्डको सजायको विषयमा व्यापक बहस भइरहेको छ । सोमबार बंगलादेशको अदालतले मानवताविरुद्धको अपराधमा उनलाई मृत्युदण्डको सजाय सुनाएपछि यो विषयले प्राथमिकता पाएको हो ।
फैसलापछि बंगलादेश सरकारले हसिनालाई ढाकासमक्ष हस्तान्तरण गर्न भारतलाई आग्रह गरेको छ । तर, भारतले भने त्यसको जवाफ दिएको छैन । आन्दोलनबाट सत्तापलट भएपछि हसिना भारतमा निर्वासित छिन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिले भारतले हसिनालाई बंगलादेशका नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय गरिएको छैन ।
शेख हसिना बंगलादेशकी सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीमा रहेर काम गर्ने व्यक्तिका रूपमा परिचित छिन् । अहिले उनलाई मृत्युदण्डको सजाय सुनाइएपछि उनको एउटा विषयले प्राथमिकता पाएको छ- त्यो हो हत्याकाण्ड ।
पाँच दशकअघि एक मध्यरातको हत्याकाण्डबाट बचेकी उनका परिवारका अधिकांश सदस्यसहित उनका पिता तथा बंगलादेशका संस्थापक राष्ट्रपति शेख मुजीबुर रहमानको हत्या भयो । तिनै शेख हसिनालाई अहिले मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्ड सुनाइएको छ ।
गत वर्ष देशव्यापी आन्दोलनका कारण ढाकामा सत्ता परिवर्तन भयो र ७८ वर्षीया हसिना भारत भाग्नु परेको थियो । ‘जुलाई आन्दोलन’ का क्रममा प्रदर्शनकारीहरूको हत्या गर्न आदेश दिएको अभियोगमा उनलाई दोषी ठहर गर्दै ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनाले विद्यार्थी प्रदर्शनकारीहरू विरुद्ध आक्रमण गराउन उक्साएको र उनीहरूलाई सुरक्षा दिन असफल भएको उल्लेख गरेको छ ।
फैसला आउनुअघि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै हसिनाले यो मुद्दा नक्कली र राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाएकी थिइन् । उनले अन्तरिम सरकार प्रमुख तथा नोबेल विजेता मोहम्मद यूनुसले आफ्नो पार्टीलाई समाप्त पार्ने उद्देश्य राखेको दाबी उनको छ । उनले बंगलादेशी जनताका लागि आफ्नो योगदान जारी रहने र अन्यायका सबै अध्यायहरूको हिसाब एक दिन किताबमा आउने बताएकी छन् ।
हत्याकाण्डबाट बचेकी
सन् १९७५ जुलाईमा हसिना र उनकी बहिनी रेहाना जर्मनी उडे । जहाँ हसिनाका पति तथा भौतिकशास्त्री एम.ए. वाजेद मियाँ कार्यरत थिए । परिवारका सबै सदस्य उनीहरूलाई बिदाइ गर्न विमानस्थल पुगेका थिए ।
एक अन्तर्वार्तामा उनले त्यो बिदाइको क्षण सम्झिँदै भनेकी छन्, मेरा पति विदेशमै हुनुहुन्थ्यो, म बाबु नानीहरूसँगै बस्थें, त्यो दिन सबैजना आएका थिए—बुबा, आमा, तीनजना भाइ, ती दुवै भाउजूहरू ।’
१५ अगस्ट १९७५ मा मुजीबुर रहमान, उनकी पत्नी, तीन छोरा र दुई बुहारीहरूलाई ढाकाको धानमण्डीस्थित निवासमै हत्या गरियो । बंगलादेशी सेनाको एक समूहले घर घेराबन्दी गर्दै ३६ जनाको हत्या गर्यो । जुन विश्वकै सबैभन्दा रक्तरंजित सैनिक ‘कूप’ मध्ये एक थियो ।
यो घटनापछि हसिनासहित उनका पति, छोराछोरी सजीब वाजेद र साइमा वाजेद तथा उनकी बहिनी रेहानाले भारतमा शरण लिएका थिए ।
लोकप्रिय नेतृ
सन् १९८१ मा जब उनी अझै भारतमै थिइन्, शेख हसिना आफ्ना पिता नेतृत्व गरेको आवामी लीगको अध्यक्ष निर्वाचित भइन् । सन् १९९१ को निर्वाचनपछि बंगलादेश नेशनल पार्टीले सरकार गठन गर्यो र आवामी लीग मुख्य प्रतिपक्ष बन्यो । हसिना प्रतिपक्ष नेतृका रूपमा परिचित भइन् ।
सन् १९९६ को निर्वाचनमा आवामी लीगले बलियो प्रदर्शन गर्दै उनी प्रधानमन्त्री बनिन् । सन् २००९ मा पुनः निर्वाचित हुँदै उनी गत वर्ष सत्ताच्यूत हुने समयसम्म लगातार प्रधानमन्त्री रहिन् ।
उनको प्रधानमन्त्रीकालमा भारत–बंगलादेश सम्बन्ध अत्यन्त सुदृढ बन्यो । सीमा सुरक्षा, पूर्वाधार विकास, आतंकवाद विरुद्ध सहकार्य आदि यस कालखण्डका मुख्य उपलब्धि ठहरिन्छन् ।
त्यही लामो मित्रताको आधारमा बंगलादेशमा भएको सत्ता परिवर्तनपछि समेत भारतले नयाँ सरकारले निरन्तर प्रत्यर्पण माग गरिरहँदा पनि हसिनालाई शरण दियो ।
सत्ताच्युत प्रधानमन्त्री
चौथो कार्यकाल सुरु गरेको केही महिनामै १९७१ का स्वतन्त्रता सेनानी (मुक्तिजोध्दा) का परिवारलाई रोजगारी तथा शिक्षामा दिइने आरक्षण (कोटा) विरुद्ध बंगलादेशभरि व्यापक विरोध सुरु भयो ।
उनी सो विषयमा लचिलो नबेनेपछि आन्दोलन ज्वाला झैँ फैलियो । कोटा विरोध आन्दोलन ‘हसिना हटाऊ आन्दोलन’ मा परिणत भयो । हसिनाले कडा दमन गरिन् । आन्दोलनमा एक हजार बढी विद्यार्थी मारिए ।
उनको दमन विफल भयो, आन्दोलनकारीहरू प्रधानमन्त्री कार्यालयसम्म पुगे, र अन्ततः हसिना बहिनी रेहानासहित भारत भाग्न बाध्य भइन् । उनी त्यतिबेलादेखि भारतमै छिन् ।
निर्वासनमा सजाय
सत्ताच्युत भएको १५ महिनापछि पूर्व प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै बंगलादेशको अदालतले मृत्युदण्ड सुनाएको छ । अदालतले उनले हिंसा उक्साएको, प्रदर्शनकारीहरूको हत्या गर्न आदेश दिएको, र नागरिक सुरक्षामा असफल भएको फैसला सुनाएको छ । अदालतले समन्स हुँदाहुँदै उनी मुद्दामा उपस्थित नभएको र उनी लुकेर बस्नु नै दोषको प्रमाण भएको टिप्पणी गरेको छ ।
हसिनाले यो फैसलालाई पूर्णतः अस्वीकार गर्दै आफूलाई प्रतिरक्षा गर्ने उचित अवसर नदिइएको आरोप लगाएकी छन् । उनले ‘अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण’ लाई निष्पक्ष नभएको बताउँदै यो अदालतको फैसला पहिले नै तय गरिएको उल्लेख गरेकी छन् ।
‘दुनियाँ कुण्ठित न्यायविद्हरू मात्र यस्तो निर्णयलाई समर्थन गर्न सक्छन्,’ आवामी लीगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा वैध लोकतान्त्रिक सरकारविरुद्ध व्यक्तिगत प्रतिशोध बाहेक यसको अन्य कुनै पनि उद्देश्य होइन ।’ एनडीटीभीको सहयोगमा ।