उद्योग विभागलाई महासंघले गर्‍यो कम्प्युटर सहयोग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उद्योग विभागमा विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई कम्प्युटरहरू हस्तान्तरण गरे ।

भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा विभाग परिसरमा भएको आगजनीका कारण कम्प्युटर तथा अन्य सामग्री जलेर नष्ट भएपछि विभागको आग्रहअनुसार महासंघले विभागलाई सहयोग स्वरूप कम्प्युटरहरू उपलब्ध गराएको हो  । 

सो अवसरमा महासंघका अध्यक्ष ढकालले निजी क्षेत्र र राज्यका निकायबीचको सहकार्यले मात्र सेवा प्रवाहको गुणस्तर सुधारिने उल्लेख गरे । 

उनले उद्योग विभागले सामना गरेको क्षति न्यूनीकरणमा महासंघको तर्फबाट सानो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आउँदा दिनमा पनि महासंघ र विभागबीच सहकार्य जारी रहने बताए ।

‘महासंघले निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य आवश्यक छ । यो सहकार्यको माध्यमबाट संस्थागत क्षमता वृद्धिमा योगदान पुग्ने हाम्रो विश्वास रहेको छ, अध्यक्ष ढकालले भने । 

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले भाद्र २३ र २४ गतेको  आन्दोलनको क्रममा विभागको भौतिक सामाग्रीमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै महासंघले तत्काल सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।

उनले महासंघको यो सहयोगले विभागको दैनिक सेवा सञ्चालन सहजता ल्याउने बताए।

Share News