चार महिनामा ३६ अर्ब बढी विदेशी लगानी प्रतिवद्धता, सूचना प्रविधिमा बढ्दैछ चासो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा ३६ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कातिक महिनासम्म नेपालले विभिन्न ८ उद्योग समूहहरूमा ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) प्रतिवद्दता प्राप्त भएकाे हो । 

उद्योग तथा लगानीका क्षेत्रअनुसार कुल ३८२ वटा परियोजना दर्ता भएका छन् । उद्योग विभागको तथ्यांकअनुसार, सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन् । आईसीटी क्षेत्रमा मात्र २०५ परियोजना स्वीकृत भएपनि लगानी रकम भने तुलनात्मक रूपमा कम अर्थात् करिव ८७ करोड ४३ लाख रुपैयाँको प्रतिवद्धता गरिएको छ ।

सबैभन्दा धेरै लगानी रकम भने कृषि तथा वनआधारित उद्योग क्षेत्रमा आकर्षित भएको छ, जहाँ १३ उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत भएको छ ।

पर्यटनतर्फ ११८ उद्योगका लागि ८ अर्ब ९४ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । सेवा क्षेत्रमा २३ ओटा उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक २१ वटा उद्योगका लागि १ अर्ब ६५ करोड, ऊर्जामुलक १ वटा उद्योगका लागि  १८  करोड,  खानीक्षेत्रको  १  वटा उद्योगका लागि ४५ लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागकाअनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । कुल ७१ वटा उद्योगमा साढे १ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । 

Share News