सबै क्रिप्टो डुब्दा जीक्यास चम्कियो, २ महिनामा १२०० प्रतिशतभन्दा बढी रिटर्न

काठमाडौं । क्रिप्टो बजारमा पछिल्लो केही दिनयता गिरावट जारी छ । बिटकोइनसहित धेरै ठूला क्रिप्टोकरन्सीहरू धराशायी भइसकेका छन् । तर एक क्रिप्टोकरन्सी भने यस्तो छ जसमा यो गिरावटको प्रभाव परिरहेको छैन । त्यसको नाम जीक्यास हो ।

पछिल्ला २४ घण्टामा धेरै क्रिप्टोकरन्सीमा ठूलो गिरावट देखिए पनि जीक्यासको मूल्य करिब १२ प्रतिशत बढेको छ । दुई महिनामा यसको रिटर्न १२०० प्रतिशतभन्दा धेरै भएको छ ।

बिहीबार दिउँसो करिब २:३० बजे जीक्यास क्रिप्टोको मूल्य ६७३ डलर (करिब ९६ हजार रुपैयाँ) थियो । यो क्रिप्टोले मात्र २० दिनमा लगानी दोब्बर गरिसकेको छ । अक्टोबर ३१ मा यसको मूल्य करिब ३३० डलर थियो, अहिले ६७० डलरभन्दा माथि पुगेको छ । यसरी हेर्दा २० दिनमै यसले लगानीकर्तालाई १०० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ । त्यस्तै एक महिनामा यसको रिटर्न १६० प्रतिशतभन्दा बढी भइसकेको छ ।

जीक्यास क्रिप्टो दुई महिनामा लगानीकर्तालाई असाधारण रिटर्न दिइसकेको छ । दुई महिना अघि यसको मूल्य करिब ५० डलर थियो, अहिले ६७० डलर पार गरेको हो । यसरी हेर्दा मात्र दुई महिनामा यसको रिटर्न १२०० प्रतिशतभन्दा बढी छ । 

हाल क्रिप्टोकरन्सी बजारमा आएको गिरावटले रोकिने नाम लिएको छैन । पछिल्ला २४ घण्टामा धेरै ठूला क्रिप्टोमा २ प्रतिशतसम्म गिरावट आएको छ । यद्यपि बिटकोइनमा केही सुधार देखिएको छ । कोइनमार्केटक्यापका अनुसार २४ घण्टामा बिटकोइन ०.७७ प्रतिशत बढेको छ । त्यस्तै, इथेरियम १.२० प्रतिशत गिरेको छ । यीबाहेक रिपल करिब १ प्रतिशत र बाइनान्स करिब २ प्रतिशत घटिसकेका छन् । सोलानामा भने २ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ ।

क्रिप्टो करेन्सीमा किन गिरावट ?

बिटकोइन, इथेरियमलगायत प्रमुख डिजिटल मुद्रामा ठूलो गिरावट आउँदा बजार मूल्य अरबौं डलरले खुम्चिएको छ ।

बजार विश्लेषकहरू अमेरिकी फेडरल रिजर्भले निकट भविष्यमा ब्याजदर घटाउने सम्भावना न्यून देखिएको हुँदा जोखिमयुक्त सम्पत्तिमा लगानीकर्ता पछाडि हट्न थालेको बताउँछन् । 

यससँगै बजारमा ठूलो मात्रामा लिइएका उधारो पोजिसन (लेभरेज ट्रेड) मूल्य घटेपछि जबरजस्ती बन्द (लिक्विडेसन) हुन थालेका छन् । 

लेभरेज ट्रेड भनेको सानो पूँजी प्रयोग गरेर धेरै ठूलो रकमजस्तै प्रभाव पार्नेगरी गरिएको ट्रेड हो । लेभरेजले ट्रेडरलाई ब्रोकर वा एक्सचेन्जबाट धितो पूँजी लिएर आफ्नो वास्तविक लगानीभन्दा धेरै गुणा ठूलो पोजिशन लिन अनुमति दिन्छ । उदाहरणका लागि यदि तपाईंले १०० डलर लगानी गर्नुभयो र दशौं गुणा लेभरेज प्रयोग गर्नुभयो भने तपाईंले १०० को नभई १ हजार डलर बराबरको ट्रेड गर्न सक्नुहुन्छ ।

ट्रेड एक्सचेन्ज स्रोतहरूका अनुसार एकै दिनमा लाखौं डलरका पोजिसनहरू लिक्विडेट भएका छन् ।

विश्लेषकहरूका अनुसार पछिल्लो महिना देखिएको मूल्यवृद्धिबाट धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाएपछि बजारको उत्साह पनि कमजोर भएको छ । यसले मनोवैज्ञानिक असर घटाउँदै प्यानिक सेलिङ (सोच, विचारबिना, मूल्य घट्दै जाँदा पनि तुरुन्तै आफ्नो सम्पत्ति बेच्ने) को वातावरण बनाएको छ ।

प्राविधिक कारणले पनि बजार झनै कमजोर बनेको बताइन्छ । बिटक्वाइनले महत्त्वपूर्ण समर्थनस्तर (सपोर्ट लेभल) भत्काएपछि स्वचालित बिक्री अर्डरहरू सक्रिय भएर अर्को श्रृंखलाबद्ध गिरावट सुरु भएको हो । बजारमा तरलता (लिक्विडिटी) कमी देखिनाले ठूला विक्रेताहरूको कारोबारले समेत मूल्य माथि टिक्न नदिएको विश्लेषण छ ।

इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल

सुन भाडामा दिएर लाखौं कमाउँदै धनी

Share News