काठमाडौं । नेपालमा उत्पादित ‘फ्रेञ्च फ्राइज’ अमेरिका निर्यात सुरु गरिसकेको फर्स्ट च्वाइस फुड्स प्रालिले विश्वका अरू मुलुकमा पनि निर्यात प्रक्रिया अगाडि बढाएको छ ।
उद्योगका सञ्चालक कृष्ण पौडेलका अनुसार अस्ट्रेलिया, युके र जापानमा ‘फ्रेञ्च फ्राइज’ पठाउने तयारी भइरहेका हो ।
‘यही मंसिर महिनाभित्रै युके पठाउँदैछु, जापान पठाउने प्रक्रिया पनि अघि बढिसकेको छ,’ सञ्चालक पौडेलले भने, ‘निर्यात गर्नुअघि डकुमेन्टेसन, गुणस्तरदेखि लिएर सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, त्यो भइरहेको छ ।’
निर्यात अघि अपनाउनुपर्ने प्रक्रिया सहज भएको उद्योगी पौडेलले बताए । उनका अनुसार केही आधारभूत ल्याब, कच्चा पदार्थ मेट्रियल ल्याब, क्वारेन्टाइन भएकोले समस्या छैन । आफ्नो उत्पादनमा स्थानीयदेखि लिएर सरकारको पनि सकारात्मक साथ रहेको उनको भनाइ छ ।
उद्योगी पौडेलका अनुसार फस्ट च्वाइस फुड्सले हालसम्म ३० जिल्लाका करिब ३५ हजार किसानलाई उद्योगसँग जोडेको छ । किसानलाई आवश्यक बीउ उद्योगले नै वितरण गर्दै आएको छ । साथै आलुको न्यूनतम मूल्य पनि तोकेको छ ।
उद्योगले खेतमै गएर किसानको आलु खरिद गर्ने गरेको छ । उनले भने, ‘हामीले आलुको न्युनतम रेट तोक्नुका साथै उत्पादन पछि हामी खेतमै गएर आलु खरिद गर्छौं । किसानलाई बजारको चिन्ता गर्नुपर्दैन ।’
केही समयअघिसम्म नेपाली बजारमा मात्रै सीमित आफ्नो उत्पादन अहिले अन्तर्राष्ट्रियमा बजारमा पुग्दा उत्साहित छन् उद्योग पौडेल । साथसाथै नेपालीले नेपाली उत्पादनलाई सर्पोट नगर्ने तीतो यथार्थ पनि रहेको उनले सुनाए ।
‘नेपाली उत्पादन गुणस्तर छैन भन्ने सन्देश फैलाएको छ, वास्तविकता त्यस्तो होइन,’ पौडेल भन्छन्, ‘नेपाली उत्पादनप्रति हाम्रा विक्रेताहरू नै नाक खुम्चाउनुहुन्छ ।’
त्यस्तै, उद्योगी पौडेलले विश्वका शक्तिशाली देशले क्वालिटी टेस्ट गरेर हाम्रो उत्पादन राम्रो छ भनिरहँदा नेपाली विक्रेता भने हुन्न भनेर पछि परेकै कारण समस्या हुने गरेको बताए । नेपाली उत्पादन नेपाली किसानको पसिना भएकाले त्यसको सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
नेपालले वार्षिक अर्बौं रुपैयाँ बराबरको खाद्यपदार्थसँग सम्बन्धित वस्तुहरू आयात गर्ने गरेको छ । उद्योगी पौडेलका अनुसार आलुसँग जोडिएका कुरकुरे, चिप्स, फ्रेञ्च फ्राइज पनि ठूलो मात्रामा आयात हुने गरेको छ ।
नेपालीमै उत्पादन हुने वस्तु आयात गर्नुको साटो यहीँ उत्पादनलाई बजारीकरण गरेर आयात विस्थापित गर्नुपर्ने उद्योगी पौडेलको जोड छ । ‘एउटा कृष्ण पौडेलले फ्रेञ्च फ्राइजको आयात रोक्न सक्छ भने अर्को कृष्ण पौडेलले उत्पादन गरेर बजारीकरण गरेर ब्राण्डिङ गर्यो भने आयात रोकिँदैन त ?,’ उनले भने ।
पौडेलका अनुसार पछिल्लो ६ महिनामा भारतबाट आउने फेञ्च फाइज ७० प्रतिशत कम भइसकेको छ । त्यसको फाइदा नेपाललाई नै भएको उनले तर्क गरे ।
‘फ्रेञ्चफ्राइज निर्यात गर्दा हामीले डलर भित्र्यायौं जबकि हिजोका दिनमा डलरको अभाव थिएन ? मलाई लाग्छ हामीले एक महिनामा एक लाख डलर भित्र्याएका छौं,’ उनले भने ।
आफ्नो व्यवसायलाई अभियानको रूपमा अगाडि बढाउँदैछन् उद्योगी पौडेल । किसानको पीडा देखेर नेपालमा पहिलोपटक प्लान्ट टप प्रविधि प्रयोगमा ल्याएको उनले बताए । यो अभियानअन्तर्गत कसरी कष्ट कसरी घटाउने र उत्पादन वृद्धि कसरी गर्ने भन्नेमा जोड दिएको उनको भनाइ छ ।
‘माटोमा रमाउने किसानको प्रगति जबसम्म हुँदैन तबसम्म उद्योग र राष्ट्रको हुँदैन भनेर मैले बुझेको छु,’ पौडेल भन्छन्,‘ म उहाँहरूकै हकहितको लागि दिनरात लागिरहेको छु, उहाँहरूसँगै हातेमालो गरेर अघि बढिरहेको छु।’
किसानको लागि स्थानीय सरकार, कृषि मन्त्रलायलगायत सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने बताउँछन् उद्योगी पौडेल । कागजमा मात्रै कृषि उत्पादन नहुने, त्यसको लागि माटोमा रमाउने किसानसँग हात मिलाउनुपर्ने उनल बताए ।
‘कागजमा रमाउने किसानलाई समातेर देश विकास हुँदैन, वास्तविक किसानको पीडा सुन्नुपर्यो, माटोमा रमाउने किसानलई समातेर देशको अर्थतन्त्रदेखि लिएर उत्पादन पनि वृद्धि गर्नुपर्यो,’ उनले भने ।
नेपालमा गर्न सके सम्भावना नै सम्भावना रहेको तर त्यसमा व्यक्ति मात्रै नभएर सबै सेक्टेर लाग्नुपर्ने उद्योगी पौडेलको विचार छ । ‘म एउटा व्यक्ति हो, व्यक्तिले मात्रै अगाडि बढाएर केही हुँदैन, राष्ट्रलाई अगाडि बढाउने हो भने सबै सेक्टर लाग्नुपर्छ,’ उनी भन्छन् ।
सरकारी निकायसँगको भेट र छलफलको क्रममा टिकापुरको कैलालीलाई आलुको हब बनाउन अनुरोध गरेको उद्योगी पौडेलले जानकारी दिए ।
उनले भने, ‘हामीले किसानलाई बीउ दिन्छौं, त्यसमा शतप्रतिशत अनुदान र समयमै मल उपलब्ध गराइदिनुस्, उद्योगको लागि केही गर्नुपर्दैन भनेका छौं ।’
उनले आलुमा क्रान्ति ल्याएर छाड्ने अडान राख्ने गरेका छन् ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ मा स्थापना भएको फर्स्ट च्वाइस फुड्सले ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका फ्रेन्च फ्राइज उत्पादन गर्दै आएको छ । पाँच वर्षअघि स्थापना भएको फर्स्ट च्वाइस फुड्सले छोटो अवधिमै नेपालको फ्रेन्च फ्राइज बजारमा आफ्नो बलियो स्थान जमाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा पनि पुग्न सफल भएको छ ।
उद्योगी पौडेलका अनुसार दुई अर्ब रुपैयाँको लगानीमा सञ्चालनमा आएको उद्योगले अत्याधुनिक युरोपियन प्रविधि प्रयोग गरेर प्रति घण्टा दुई टन फ्रेन्च फ्राइज उत्पादन गर्ने क्षमता राख्छ । अहिले फ्रेन्च फ्राइजसँगै कम्पनीले क्रिनिकल कट, स्माइल्स, ह्यास ब्राउन, स्मोकी बाइट्स, आलु टिक्की, भेग स्टिक, बर्गर प्याटी, पोटाटो वेजेस लगायत उत्पादन पनि गर्दै आएको छ ।