आजसम्म सेयरधनी बने दुई कम्पनीको बम्पर लाभांश पाइने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुइटै कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । 

एनआरएनले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २८ करोड ४३ लाख ७२ हजार रुपैयाँको ४० प्रतिशतका दरले ५१ करोड ३७ लाख ४८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशतका दरले २ करोड ७० लाख ३९ हजार रुपैयाँ नगद गरी ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस ४ गते आम्रपाली व्याङक्वेट, काठमाडौंमा बिहान ९ बजे १३औँ वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै, शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँको २.५ प्रतिशतका दरले १३ करोड ६४ लाख २० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ सहित १० प्रतिशतका दरले ५४ करोड ५६ लाख ८० हजार रुपैयाँ नगद गरी कुल १२.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते, राष्ट्रिय सभा गृह काठमाडौंमा बिहान साढे १० बजे १०औँ वार्षिक साधारण सभा बोलाएको छ । 

Share News