विमानस्थलको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिइँदै, उखु र मकै लगाउन नपाइने

काठमाडौं । विमानस्थलको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सिमरा नागरिक उड्डयन कार्यालय बाराले विमानस्थल क्षेत्रभित्र रहेको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिने भएको हो । 

सिमरा कार्यालयको क्षेत्रभित्र रहेको धावन मार्गको पश्चिमपट्टिको प्लट नम्बर १ को जग्गा ५ वर्षका लागि भाडामा दिने भएको हो । कार्यालयका अनुसार प्लट नं १ को ४ विघा ३ कट्ठा ३ धुरको खाली जग्गा कृषि प्रयोजनका लागि पुस १ गतेदेखि २०८७ मंसिर मसान्तसम्म ५ वर्षका लागि ठेक्का भाडामा दिने भएको हो । 

उक्त खाली जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा लिन इच्छुक सङ्घ संस्था वा व्यक्तिले मंसिर २४ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम शुल्क ३ हजार ३९० रुपैयाँ तोकिएको छ । 

उक्त प्लट न. १ को कवोल रकम न्यूनतम् वार्षिक १ लाख २५ हजार ५ सय रुपैयाँका दरले ५ वर्षमा कुल ६ लाख २७ हजार ५ सय रुपैयाँ हुन आउने कार्यालयले जनाएको छ ।

ठेकेदारले उक्त जग्गामा उखु, मकै जस्ता अग्ला अग्ला बोटबिरुवा हुने बाली तथा गाँजा जस्ता कानुनद्वारा निषेधित तथा जङ्गली जनावर तथा चराचुरुङ्गी आकर्षित गर्ने खालका बाली लगाउन पाइने छैन ।

null

Share News