काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा उद्योग र कम्पनी सञ्चालनका लागि सहजरूपमा वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय युवा परिषदद्वारा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले हाल देशमा राजनीतिक दल खोल्ने जति सहज वातावरण उद्योग,व्यवसाय स्थापना र विस्तारमा नहुँदा समग्र आर्थिक वृद्धि अवरुद्ध भइरहेको बताए ।
ढकालका अनुसार जेनजी आन्दोलनपछि नेपालमा नयाँ राजनीतिक दल खोल्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ । तर त्यही जोशजाँगर उद्योग र उद्यमशीलता विकासतर्फ छैन ।
उनले भने, ‘दिनदिनै नयाँ दल खुलिरहेका छन् । यदि कम्पनी र उद्योग पनि त्यत्तिकै गतिमा खुल्न थाले देश समृद्धि तिर उड्न थाल्थ्यो । केवल नयाँ राजनीतिक दलहरूको बाढी आएर देश समृद्ध हुँदैन । त्यसका लागि उद्यमशीलता, उद्योग विस्तार र आर्थिक सुधारलाई राजनीतिक एजेन्डाको पहिलो प्राथमिकता बनाउनैपर्छ ।’
आगामी निर्वाचनका घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तार सहज बनाउने स्पष्ट तथा कार्यान्वयनयोग्य नीति अनिवार्य रूपमा समावेश गर्न ढकालले राजनीतिक दलहरूलाई आग्रहसमेत गरे ।