काठमाडौं । अध्यागमन विभागले नेपालमा सञ्चालित विश्वविद्यालय तथा शिक्षण संस्थाले विदेशी नागरिकलाई अध्ययन भिसाको लागि सिफारिस गर्दा ध्यान दिन आग्रह गरेको छ । कानुनले वर्जित गरेका क्रियाकलापमा संलग्न भएका विदेशीहरूलाई समेत अध्ययन भिसा सिफारिस गर्ने गरेको पाइएको भन्दै त्यसो नगर्न आग्रह गरेको हो ।
अध्यागमन विभागले गरेको अनुगमनका क्रममा कतिपय शैक्षिक संस्थाहरूले अध्ययन नगर्ने विदेशी नागरिकलाई समेत विद्यार्थी भर्ना गर्ने गरेको पाइएको जनाएको छ ।
‘कतिपयले संस्थाले आर्थिक आम्दानी गर्ने उद्देश्यले विद्यार्थीको लागि सिफारिस गर्ने गरेको पाइयो भने, कतिपयको बसाइँ अवधि लम्ब्याउने विदेशीहरूलाई अध्ययन भिसा सिफारिस गर्ने गरेको पाइएको छ,’ सूचनामा भनिएको छ।
नेपालका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा उच्च शिक्षाका लागि, कतिपय नेपालको भाषा, संस्कृति, कला, साहित्य र सङ्गीत लगायतका विभिन्न विधामा विदेशी नागरिकहरू अध्ययन गरिरहेका छन् ।
विभागले यस्ता विद्यार्थी र विभिन्न शैक्षिक एवम् प्राज्ञिक प्रतिष्ठानहरूमा एकेडेमिक र ननएकेडेमिक शिक्षा प्राप्तिका लागि अध्ययन गर्न चाहने विदेशी नागरिकहरूलाई प्रचलित अध्यागमन कानुन बमोजिम अध्ययन भिसा उपलब्ध गराउँदै आएको छ ।
पछिल्लो समय विदेशी नागरिक आपराधिक गतिविधिमा संलग्न हुने क्रम बढेपछि विभागले अनुगमन गरेको हो ।
विभागले अनुगमन गर्दा अध्ययन भिसा प्राप्त गरेका केही विदेशी नागरिकहरू नियमित रूपमा कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गरेको, अध्ययनको कोर्ष पूरा भएपछि शैक्षिक प्रमाणपत्र समेत पेश गर्न नसकेको र कतिपय विदेशी विद्यार्थीहरू गैरकानुनी कार्यमा संलग्न रहेको देखिँदासमेत सम्बन्धित शैक्षिक संस्थाहरूले विभाग तथा स्थानीय प्रशासनलाई सूचना नदिने गरेको पाइएको छ ।
विभागले भिसा तथा आम्दानी प्रयोजनका लागि मात्र आफ्नो शैक्षिक संस्थामा विदेशी विद्यार्थी भर्ना नगर्न, आफ्नो संस्थामा अध्ययनरत विद्यार्थीहरू नियमित रूपमा पठनपाठनमा संलग्न भए/नभएको यकिन गरी मात्र भिसा सिफारिस गर्न र पठनपाठन भन्दा बाहेक अन्य शङ्कास्पद गतिविधिमा संलग्न भएको जानकारीमा आएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई सूचना दिन अध्यागमन विभाग सबै शैक्षिक संस्थाहरूलाई अनुरोध गरेको छ ।