काठमाडौं । हङकङमा सन् १९४८ यताकै सबैभन्दा भीषण आगलागीमा कम्तीमा ९४ जनाको मृत्यु र सयौं बेपत्ता भएपछि चीनका निजी क्षेत्रका ठूला कम्पनीहरूले उद्धार तथा राहतका लागि दर्जनौं करोड रुपैयाँ बराबरको सहयोग प्रतिवद्धता जनाएका छन् ।
अलिबाबा ग्रुप र यसको सहायक एण्ट ग्रुपले आगलागीपीडितका लागि ३ करोड हङकङ डलर सहायता दिने घोषणा गरेका छन् । चीनका चर्चित उद्यमी अलिबाबाका संस्थापक ज्याक माले पनि आफ्नो च्यारिटी फाउन्डेसनमार्फत ३ करोड हङकङ डलर आपतकालीन राहतका लागि प्रतिवद्धता जनाए ।
ज्याक वुल्फस्किन र फिला जस्ता ब्रान्ड भएको स्पोर्टसवेयर निर्माता एन्टाले नगद तथा सामाग्री गरी ३ करोड हङकङ डलर सहयोग गर्ने बताएको छ । शाओमी कर्प र बाइटडान्सले आ–आफ्नो तर्फबाट १–१ करोड हङकङ डलर सहयोग गर्ने घोषणा गरेका छन् । टेन्सेन्टले सुरुमा १ करोड हङकङ डलर दिने भनी जनाएकोमा पछि सहयोग बढाएर ३ करोड बनायो ।
शाङ्हाइ सरकारसम्बद्ध द पेपरको अनुमान अनुसार बुधबारसम्म ४० भन्दा बढी निजी उद्यमहरूले जम्मा ६० करोड हङकङ डलरभन्दा माथिको सहयोग प्रतिवद्धता जनाइसकेका छन् ।
चीनको निजी इक्विटी कम्पनी हङशान क्यापिटल ग्रुप (पहिले सेकोइया क्यापिटल चाइना) ले पनि उद्धार कार्यका लागि १ करोड हङकङ डलर प्रदान गर्ने भएको छ।
रकम पीडित परिवारलाई आर्थिक राहत, विस्थापित बालबालिकाका लागि शैक्षिक सामग्री, मनोसामाजिक सहयोग र अन्य आवश्यक सेवाका लागि उपयोग गरिनेछ ।
यी सहयोग घोषणाहरू राष्ट्रपति सी जिनपिङले क्षमता अनुसार सबै सहयोग जुटाउन तथा आवश्यक सहारा प्रदान गर्न सम्बद्ध निकाय र पक्षहरूलाई आह्वान गरेपछि सार्वजनिक भएका हुन्।
शाओमीका सह–संस्थापक लेइ जुनले २०१९ मा आफ्नो परोपकारी फाउन्डेसन स्थापना गरेदेखि अत्याधुनिक प्रविधि विकास तथा विपन्न परिवारका विद्यार्थीलाई सहयोग गर्न १.७ अर्ब युआन (२.४ अर्ब रुपैयाँभन्दा बढी) दान गरिसकेका छन् ।
२०२१ मा मेइटुआनका संस्थापक वाङ सिङले आफ्नो फाउन्डेसनलाई शिक्षा तथा वैज्ञानिक अनुसन्धान प्रवर्द्धनका लागि करिब २.३ अर्ब डलर बराबरको सेयर प्रदान गरे। बाइटडान्सका संस्थापक झाङ यिमिङले पनि आफ्नो सम्पत्तिको ठूलो हिस्सा सामाजिक कार्यमा लगानी गरेका छन् ।
१९४८ यताको सबैभन्दा भीषण आगलागी
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार बिहान उद्धृत गरेको हङकङ फायर विभागको तथ्यांकअनुसार मृत्यु संख्या ९४ पुगेको छ । १९४८ मा गोदाममा लागेको आगलागीमा १७६ जनाको मृत्यु भएपछि यो सबैभन्दा धेरै मानवीय क्षति भएको आगलागी हो ।
रायटर्सका अनुसार, नवीनतम आगलागी वाङ फुक कोर्ट नामक उत्तरी हङकङमा रहेको आठ टावर भएको सार्वजनिक आवासीय कम्प्लेक्समा फैलिएको थियो, जहाँ २ हजार अपार्टमेन्टमा करिब ४ हजार ६०० मानिस बस्छन् ।
अधिकारीहरूलाई उद्धृत गर्दै रायटर्सले लेखेअनुसार सातमध्ये चार ब्लकमा लागेको आगलागी सुरु भएको करिब एक दिनपछि मात्रै नियन्त्रणमा आएको थियो । बाँकी क्षेत्रमा भने आगो नियन्त्रणमा लिन दमकलकर्मीहरू निरन्तर संघर्ष गरिरहेका थिए ।
अधिकारीहरूले आगो आवासीय टावरलाई घेरेर राखिएको बाँसको स्क्याफोल्डिङबाट सुरु भएर काठका डाँठ र सुरक्षा जालमार्फत अन्य भवनमा फैलिएको हुनसक्ने बताएका छन् ।
हङकङ प्रहरीले अत्यन्तै ज्वलनशील फोम, प्लास्टिक र सुरक्षा मेस प्रयोग गरिएको आलोचना गर्दै यसलाई ‘गम्भीर लापरवाही’ का रूपमा वर्णन गरेको छ । आगलागीसँग सम्बन्धित अभियोगमा एक निर्माण कम्पनीका तीन जनालाई ‘मानवहत्या’ आरोपमा पक्राउ गरिएको छ ।