सोमबारदेखि पुनः सञ्चालनमा आउँदै चन्द्रागिरी केबलकार

काठमाडौं । राजधानीमा सञ्चालित चन्द्रागिरि केबलकार सेवा सोमबार (भोलि)देखि पुनः सञ्चालनमा आउने भएको छ । केही समयदेखि निर्माणाधीन तथा मर्मतसम्भारका कारण बन्द रहेको उक्त सेवा अब नियमित रूपमा सञ्चालनमा आउन लागेको हो । 

केबलकार सञ्चालक समिति सचिव झलक शर्माका अनुसार सोमबार बिहान ८ बजेदेखि यात्रुहरूका लागि नियमित सेवा उपलब्ध हुनेछ । भाडादरमा भने कुनै परिवर्तन गरिएको छैन । पहिलेकै ८ सय २५ रुपैयाँ भाडा कायम गरिएको उनले जानकारी दिए । 

यद्यपि, विद्यार्थीहरूका लागि भने २५ प्रतिशत छुटको व्यवस्था यथावत राखिएको छ ।  तत्कालका लागि अन्य कुनै नयाँ छुट वा विशेष अफरहरू नभएको उनको भनाइ छ।

मंसिर १५ गते सोमबार एक दिनका लागि केबलकार टिकटमा २५ प्रतिशत छुट सुविधाको व्यवस्थासमेत गरिएको छ । आगामी दिनमा नयाँ योजनाहरू ल्याउन सकिने विषयमा छलफल गरिने सचिव शर्माले बताए । 

कम्पनीका अनुसार सञ्चालन प्रणाली (प्यानल बोर्ड) मा समस्या देखिएपछि सेवा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । गत भदौ २४ गते केबलकारमा तोडफोड भएपछि केबलकार बन्द भएको थियो । केबलकारमा पुर्ननिर्माण भएर कात्तिक २२ र २३ गते सञ्चालनमा आएको थियो । 

सचिव शर्माले विकासन्युजसँग भने, ‘प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएको थियो । यसलाई समाधान गर्न अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाइएको छ र सबै काम सकेर भोलिबाट केबलकार सञ्चालनमा आउँछ ।’

सेवा नियमित सञ्चालनमा आउनु अघि रोकिएको निर्माण कार्य सम्पन्न भइसकेको र अब सेवा सुचारु गर्न कुनै प्राविधिक समस्या नरहेको जानकारी गराइएको छ ।

Share News