जेनजी आन्दोलनले फाइलहरू जलेर नष्ट, ट्रेडमार्क दर्ताका लागि उद्योग विभागको आह्वान

काठमाडौं । सरकारले ट्रेडमार्क दर्ताका लागि आह्वान गरेको छ । जेनजी आन्दोलनबाट फाइलहरु जलेर नष्ट भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभाग त्रिपुरेश्वरले ट्रेडमार्क दर्ताका लागि आह्वान गरेको हो । 

भदौ ३ गते ट्रेडमार्क दर्ता सम्बन्धी सूचना जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते देशव्यापी रूपमा भएको आगजनी, तोडफोड, लुटपाटका घटनाबाट विभागको औद्योगिक सम्पत्ति शाखामा रहेका भौतिक फाइलहरू जलेर नष्ट भई असहज परिस्थिति सिर्जना भएकाले गत असोज ८ गतेबाट स्थगित गरिएको थियो ।

विभागमा ट्रेडमार्क दर्ताका लागि निवेदन दिएका र कागजात पूरा नभएका दरखास्तवालाहरूको हकमा यसपूर्व आवेदन गरेका सम्पूर्ण दरखास्तवालाहरूले अबको ९० दिनभित्र आवश्यक कागजात साथ राखी पुन निवेदन पेश गर्नुपर्ने विभागले जनाएको छ । अन्यथा उक्त समयभित्र निवेदन पेश नगरेका सात वर्षभन्दा अघिदेखि आवेदन भई बसेका सबै पुराना दरखास्तहरू ९० दिन पश्चात् स्वतः खारेज हुनेछन् । 

साथै, औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशित भई दाबी विरोधको उजुरी नपरेका ट्रेडमार्क दरखास्तवालाको हकमा यो सूचना प्रकाशित भएको ६ महिनाभित्र प्रमाणपत्र लिनका लागि आवश्यक कागजात सहित विभागमा निवेदन पेश गर्नुपर्नेछ । सो अवधिभित्र दरखास्त पेश नगरेमा त्यस्ता आवेदनहरू खारेज भई जाने विभागले जनाएको छ ।

Share News