​​​​​​​लोन प्रोडक्टमा गभर्नर पौडेल असन्तुष्ट, उद्योगी, व्यवसायीसँग छलफल गरेर डिजाइन गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई ‘लोन प्याकेज’मा पुनरावलोकन गर्ने निर्देशन दिएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरू पुनरावलोकन गर्ने बेला आएको बताए । 

उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर बैंकका सीईओहरुले त्यस्ता प्याकेजहरू डिजाइन गर्नुपर्ने गभर्नर पौडेलले बताए । हाल बैंकहरुले सञ्चालन गरिरहेका लोन प्याकेजहरू त्यसरी डिजाइन नगर्दा प्रभावकारी रुपमा ऋण प्रवाह हुन नसकेको र बैंकमा पैसा थ्रुपिएको उनको भनाइ छ । साथै, बैंकहरुका प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउने गरेको समेत उनले बताए । 

‘बैंकको फाइनान्सियल प्रोडक्टहरु मोनटिरी पोलिसीअनुसार नयाँ आइरहेको देखिँदैन । फार्मरहरुदेखि टुरिजम सेक्टरको फार्मर, एन्ट्ररप्रेनरहरुले पनि भनिरहेका छन् की लोन प्रोडक्टहरुले जुन रुपमा डिजाइन भइरहेको छ, त्यो डिजाइनहरू उहाँहरूको आवश्यकता अनुकूलको भएर आएको छैन । लोकल विजनेशम्यानहरुलाई फोकस गरेर फाइनान्सियल प्रोडक्टहरु ल्याउन म अनुरोध पनि गर्दछु,’ गभर्नर पौडेलले भने ।

उनले मौद्रिक नीतिलाई थप लचिलो बनाइएको बताउँदै यसले कृषि, पर्यटनलगायतका उद्यमी व्यवसायीले ऋणका लागि सहजता थप्ने बताए । राष्ट्र बैंकको नीतिकै कारण कुनै उद्योगी व्यवसायीलाई समस्यामा पर्ने अवस्था आउन नदिने उनको भनाइ छ । 

राष्ट्र बैंकका गभर्नर पौडेलले बैंकहरुलाई महानगरभित्र शाखा खोल्ने, गाभ्नेमा मौद्रिक नीतिले स्वतन्त्र छाडिदिएको बताए । त्यसले बैंकहरुले व्यवसाय बढेर नाफा वृद्धि हुने उनको भनाइ छ । 

Share News