जीवन बीमकको नयाँ व्यवसाय २९ प्रतिशतले बढ्यो : अग्रस्थानमा नेपाल लाइफ, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (साउन–कार्त्तिक) सम्ममा जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क उल्लेखनीय वृद्धि भएको छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कार्त्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले १२ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको यही अवधिको तुलनामा २९.९१ प्रतिशतले वृद्धि हो । बीमा कम्पनीहरूले गत आवको यही अवधिमा ९ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको थिए ।

कार्त्तिकसम्ममा नयाँ व्यवसाय आर्जनमा नेपाल लाइफ अगाडि देखिएको छ । उक्त अवधिमा नेपाल लाइफले तीन अर्ब ६७ करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । 

चालु आवको चार महिनामा नेपाल लाइफले आर्जन गरेको प्रथम शुल्क गत आवको सोही अवधिको तुलनामा ४४.४५ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा कम्पनीले २ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ प्रथम  बीमा शुल्क आर्जन गरेको थियो।

दोस्रोमा नेशनल लाइफले एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ प्रथम  बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ लाख ४७ हजार ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा चालु आवको चार महिनामा नेशनल लाइफको प्रथम बीमा शुल्क २८.०५ प्रतिशतले बढेको छ ।

तेस्रोमा एलआईसी नेपालले ९३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको छ, जुन गत आवको तुलनामा २५.६२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीले ७४ करोड २० लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, सूर्यज्योति लाइफले ८३ करोड ९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले ७१ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आवको तुलनामा चालु आवमा कम्पनीको नयाँ व्यवसाय १६.०२ प्रतिशतले बढेको छ ।

चार महिनाको अवधिमा सिटिजन लाइफले ७४ करोड ३५ लाख रुपैयाँ, हिमालयन लाइफले, हिमालयन लाइफले ६८ करोड, एशियन लाइफले ६२ करोड, आएमई लाइफ ५८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५४ करोड रुपैयाँ, रियायबल नेपालले ५३ करोड, प्रभु महालक्ष्मी लाइफले ४२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । 

गत आवको तुलनामा सिटिजन्सको ४३.५७, एशियनको ३५.२५, आईएमईको ८४.२५, सानिमाको २१.४ प्रतिशत, रिलायबलको ३७.९४ र प्रभु महालक्ष्मीको २४.४७ प्रतिशतले प्रथम बीमाशुल्क बढेको छ । 

त्यसैगरी, चार महिनामा सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमाको प्रथम बीमा शुल्क ४९ करोड ४१ लाख रुपैयाँ, मेट लाइफको ४७ करोड ४० लाख रुपैयाँ र सन् नेपालको २८ करोड ८४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

null

Share News