काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार निष्कासन गर्न स्वीकृति दिएको छ । बैंकले अंकित मूल्य १ सयका दरले ३५ लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको हो । बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको छ ।
विकास बैंकको १८औँ वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि धितोपत्र बोर्डमा पेस गरिएको थियो । बोर्डले सबै प्रक्रिया पूरा भएपछि सेयर जारी गर्ने अनुमति दिएको हो ।
अग्राधिकार सेयर निष्कासनपछि बैंकको पूँजीगत संरचना थप सुदृढ हुने, पुँजीकोष बढ्ने तथा बैंकले व्यवसाय विस्तारका अवसरहरू थप पाउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार हालको बजार तरलता तथा प्रतिफल दरको अवस्थालाई हेर्दा ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर संस्थागत लगानीकर्ताका लागि उचित माध्यम हुनेछ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सुदृढीकरणका लागि हकप्रद सेयरका विकल्प स्वरूप अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न सर्कुलरमार्फत गरेको थियो ।