समृद्धि फाइनान्सको हिमाल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड, पोखरा शाखाले हिमाल कलेज अफ म्यानेजमेन्टमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मध्यवर्ती स्तर तथा बीबीए प्रथम सेमेस्टरका ३० जना विद्यार्थी लक्षित उक्त कार्यक्रममा बैंक तथा वित्तीय संस्था (बीएफआई) सम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रम समृद्धि फाइनान्सका शाखा प्रबन्धक दीपक कुमार श्रेष्ठको नेतृत्वमा सम्पन्न भयो । कार्यक्रममा बीएफआईहरूको कार्यक्षेत्र, रोजगारीका अवसर, बैंक वर्गीकरण, सहकारी तथा बैंकबीचको भिन्नता लगायतका विषयमा विस्तृत जानकारी दिइयो । साथै, वित्तीय क्षेत्रमा रहेको करियर र अवसरबारे विद्यार्थीहरूलाई मार्गदर्शन गरिएको थियो ।

विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्तै जानकारीमूलक तथा उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । समृद्धि फाइनान्सले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ । संस्थाले आरटीजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग, मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर कोडजस्ता डिजिटल सेवा तथा सुविधाहरू प्रदान गरिरहेको छ ।

Share News