काठमाडौं । सौरभ ग्रुपको सर्वोत्तम स्टील्सले एक वर्षमा पौने ९ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) बराबरको कुल सञ्चालन आम्दानी गरेको हो । जुन अघिल्लो वर्ष सन् २०२४ को तुलनामा २७.२३ प्रतिशत अर्थात् १ अर्ब ८६ करोड ८० लाख रुपैयाँ बढी हो ।
कम्पनीले सन् २०२४ मा ६ अर्ब ८५ करोड ८० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । न्यौपानेले मार्च २०१७ मा सर्वोत्तम स्टील्स प्रालि स्थापना गरेका हुन् । पछि जुलाई २०२१ मा कम्पनीलाई पब्लिक लिमिटेडमा रुपान्तरण गरेका थिए ।
पर्साको वीरगञ्जमा प्लान्ट रहेको कम्पनीले टीएमटी स्टील बार, बिलेट र तारहरू उत्पादन गर्दै आएको छ । कम्पनीको उक्त प्लान्टको उत्पादन क्षमता कुल ७ लाख ६४ हजार १६० मेट्रिक टन रहेको जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४४ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । जसमा दीर्घकालीन ऋण १ अर्ब ३ करोड ४६ लाख रुपैयाँ र ५ अर्ब ४१ करोड रुपैयाँ अल्पकालीन ऋण लिएको छ ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले अल्पकालीन ऋणका लागि एफोर प्लस र दीर्घकालिन ऋणका लागि डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।
सौरभ ग्रुपको उदय म्यानमारबाट भएको हो । सन् १९६० सम्म विष्णुप्रसाद न्यौपानेका बुबा लीलाराम न्यौपानेले म्यानमारमा रिटेल व्यापार गर्थे । त्यसबाहेक म्यानमार कै शानस्थित लासियो सहरमा उनले बटर बनाउने उद्योग पनि चलाउँथे । सन् १९६० मा राज्यले बाैद्ध धर्म अपनाउने आदेश दिएपछि नेपाली र भारतीय नागरिकहरू म्यानमारबाट निकालिए ।
त्यसैबेला लीलाराम न्यौपानेले म्यानमार छाडेर नेपालमै व्यापार गरेर स्थापित हुने सोच लिए । व्यापारिक एजेन्सी र बस व्यवसायको थालनी गरेर उनले व्यापार थाले । यस्तै भैरहवामा टेक्सटाइलको होलसेल स्टोर सुरु गरे । त्यो बेला काठमाडौंबाट टेक्सटाइल मगाएर भैरहवामा वितरण गरिन्थ्यो । पछि न्यौपानेले नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ लिमिटेडको नेतृत्व पनि लिए । सन् १९६४ मा न्यौपानेको व्यापारले ठूलो रुप लिदै गयो । सन् १९८६ मा जगदम्बा सिमेन्ट उद्योग स्थापना गरे । सन् १९९० को सुरुवातीमा म्यानुफ्याक्चर भेन्चर सुरु गरे ।
सौरभ फोटो इन्टरनेसनलले कोन्का प्रोडक्ट्सको आधिकारिक डिस्ट्रिब्युटरको काम गर्थ्यो । सन् १९९० मा नेपाली बजारमा उनको बलियो उपस्थीति भयो । आयात निर्यात व्यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गरेका थिए । अहिले सौरभ ग्रुप सिमेन्ट, स्टील, चिया, धागो, पीपी वुभन फ्याब्रिक, क्याल्सियम कार्वोनेट आदि सामग्रीहरूको उत्पादनमा केन्द्रित छ ।
यस ग्रुपले कोन्का प्रोडक्टहरू, सिटिजन घडीका पार्टपूजाहरू र अरू चाइनिज सामानहरूको आयात गरेर व्यापारिक क्रियाकलापहरुलाई निरन्तरता दिएको छ । लीलारामको निधनपछि उनका छोरा विष्णुप्रसाद न्यौपानेले सन् १९८८ देखि ग्रुपको नेतृत्व गर्दै आएका छन् ।