४ महिनामा निर्जीवन बीमकको व्यापार १५ अर्ब ८४ करोड, शिखर र सलिकोबीच टक्कर

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिना (कात्तिक) सम्म १५ अर्ब ८४ करोड रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । 

नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले  ९ लाख ३ हजार ९८५ वटा बीमालेख जारी गरेर १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

बीमा कम्पनीहरूले चालु आवको पहिलो चार महिनामा संकलन गरेको कुल बीमा शुल्क गत आवको यही अवधिको तुलनामा १२.४२ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरूले ८ लाख ९७ हजार २३५ वटा बीमालेख जारी गरेर १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

चार महिनाको अवधिमा कुल व्यवसाय आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र शिखर इन्स्योरेन्सबीच कडा टक्कर देखिएको छ । यो अवधिमा सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । 

सलिकाले चार महिनामा १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ०.३८ प्रतिशतले बढेको छ ।

दोस्रो धेरै व्यवसाय भित्र्याउने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । शिखरले यो अवधिसम्ममा १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय  २३.२८ प्रतिशतले बढेको छ ।

तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले चालु आवको चार महिनामा १ अर्ब ६० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३९.६६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, चार महिनामा शिखर इन्स्योरेन्सले  १ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २७ करोड ३६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २६ करोड २२ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब १४ करोड ८२ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड ३७ रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब २ करोड ३ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले ९२ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

समीक्षा अवधिमा हिमालयन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.८२ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२.२२ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ३४.०१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३९ प्रतिशत, युनाइटेड अजोडको २७.८० प्रतिशत र सानिमा जीआईसीको ३०.९३ प्रतिशतले व्यवसाय बढेको छ । चालु आवमा ओरियन्टलको भने ०.५० प्रतिशतले व्यापार घटेको छ । 

चार महिनामा नेपाल इन्स्योरेन्सले ८६ करोड ६२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ६५ करोड ७१ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ५० करोड ९५ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४३ करोड ७० लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । गत आवको तुलनामा नेपाल इन्स्योरेन्सको १०.०९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.७१ प्रतिशत र नेशनल इन्स्योरेन्सको ३.९० प्रतिशत व्यवसाय बढेको छ । राष्ट्रिय बीमा कम्पनीको भने व्यापार २८.९३ प्रतिशतले घटेको छ ।

null

Share News