वैदेशिक रोजगार म्यादी जीवन बीमाको दायरा बढ्दै, ४ महिनामा १ अर्ब बढीको व्यवसाय

काठमाडौं । स्वदेशमै रोजगार सिर्जना नभएपछि कामको सिलसिलामा विदेश जाने नागरिकको संख्या दिनदिनै बढ्दै गएसँगै वैदेशिक रोजगार म्यादी जीवन बीमाको पनि दायरा बढ्दै गएको छ । सरकारले यो बीमालाई अनिवार्यसमेत गरेको कारण म्यादी जीवन बीमाको दायरा बढ्दै गएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनाको अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमा लेखअन्तर्गत २४ करोड ४३ लाख रुपैयाँ पोलिसी जारी भएको छ । सो संख्या बराबरको पोलिसी जारी हुँदा बीमा कम्पनीहरूले १ अर्ब १७ करोड ७३ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् ।

गत आवको यही अवधिमा बीमा कम्पनीहरूले १ अर्ब ५ करोड ६७ लाख रुपैयाँ वैदेशिक रोजगार म्यादी जीवन बीमा लेखअन्तर्गत २१ लाख ६८ हजार ५५वटा पोलिसी जारी गरी १ अर्ब ५ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका थिए । गत आवको तुलनामा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन व्यवसाय ११.४० प्रतिशतले वृद्धि भएको छ ।

बीमा कम्पनीहरूले उक्त पोलिसीअन्तर्गत सबैभन्दा धेरै व्यवसाय बागमती प्रदेशबाट गरेको छ । बीमा कम्पनीहरूले बागमती प्रदेशबाट मात्रै २४ लाख १३ हजार संख्या बराबरको बीमालेख जारी गरी कुल १ अर्ब ९ करोड ४ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । यो कुल व्यवसायको ९२.६२ प्रतिशत हो ।

त्यस्तै, चार महिनाको अवधिमा कोशी प्रदेशबाट ८५ लाख ७६ हजार बीमालेख जारी गरी २ करोड ५७ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । मधेश प्रदेशबाट २ अर्ब १३ करोड रुपैयाँ, लुम्बिनीबाट २ अर्ब ८ करोड रुपैयाँ, गण्डकीबाट १ अर्ब ३८ करोड रुपैयाँ, कर्णालीबाट २५ लाख र सुदूरपश्चिमबाट २४ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका छन् ।

गत आवको यही अवधिमा बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमालेखअन्तर्गत बागमतीबाट १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष लुम्बिनी, गण्डकी र लुम्बिनीबाट १ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । 

Share News