काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिका, पिन्डेश्वर बाबाधाम व्यवस्थापन समिति, धरान १४, सुनसरीलाई १० थान डस्टबिन, ५ थान डस्ट प्यान, ५ थान कुचो र ५ थान झाडु हस्तान्तरण गरिएको छ ।
धरान वडा नं. १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईले बैंकको यस पहलप्रति खुसी व्यक्त गर्दै भने 'धरान १४ धार्मिक दृष्टिले प्रख्यात छ र देश–विदेशबाट धेरै भक्तजन आउने गर्छन् । मन्दिर परिसर सफा राख्न यस बैंकले उपलब्ध गराएको डस्टबिन महत्वपूर्ण भूमिका खेल्नेछ ।'
उक्त व्यवस्थापन समितिका अध्यक्ष विकास नेपालीले बैंकको सामाजिक पहलले मन्दिर क्षेत्रमा सफाइ कायम राख्न सहयोग पुर्याउने उल्लेख गर्दै धन्यवाद प्रकट गरे ।
कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा तथा समाजसेवीहरूको पनि सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले सबैलाई फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न र मन्दिरको सफाइमा योगदान दिन आह्वान गरे ।
डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षण लगायतका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
प्रादेशिक विकास बैंकको रुपमा, झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका ४७ शाखा तथा तीन एटीएममार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ । बैंकले कोशी प्रदेशभित्रका अन्य जिल्लामा पनि नयाँ शाखा स्थापना गर्ने लक्ष्य राखेको छ ।