काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तरदेशीय विद्युत व्यापारमा अर्को सफलता हात पारेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सीईए) ले नेपालबाट थप ३४.९५ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएसँगै नेपालको कुल स्वीकृत निर्यात क्षमता १ हजार २ सय मेगावाट पुगेको छ ।
बुधबार भारतीय पक्षबाट प्राप्त नयाँ अनुमतिसँगै प्राधिकरणले अब भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) को प्रतिस्पर्धी बजारमा थप दुई आयोजनाको बिजुली बिक्री गर्न पाउने भएको हो ।
कुन-कुन आयोजनाले पाए अनुमति ?
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार अब सेती नदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादी खोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत भारतीय बजारमा बिक्री हुनेछ।
यसअघि प्राधिकरणले ३३ वटा आयोजनाका १ हजार १ सय ६५ मेगावाट विद्युत निर्यातको अनुमति पाएको थियो । नयाँ थपिएका दुई आयोजनासहित अब कुल स्वीकृत क्षमता १ हजार २ सय मेगावाट पुगेको छ ।
नयाँ आयोजनाको स्वीकृतिसँगै भारतले यसअघि नै निर्यात भइरहेका १२ वटा आयोजनाको २०४.५८ मेगावाट विद्युतको निर्यात अवधि पनि थप गरिदिएको छ ।
यसअघि १५ जुनदेखि ३१ अक्टोबरसम्मका लागि मध्यकालीन द्विपक्षीय सम्झौतामार्फत अनुमति पाएका यी आयोजनाहरूको बिजुली अब वर्षको बाँकी अवधिमा पनि भारतीय प्रतिस्पर्धी बजार (आईईएक्स) मा बिक्री गर्न सकिने गरी नवीकरण गरिएको प्राधिकरणले जनाएको छ ।
बंगलादेशसँग बढ्दै व्यापार
नेपालले हाल भारतको प्रसारण लाइन प्रयोग गर्दै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरिरहेको छ । हालै बंगलादेशमा सम्पन्न द्विपक्षीय वार्तामा थप २० मेगावाट विद्युत निर्यात गर्ने समझदारीसमेत भएको छ ।
प्राधिकरणले वर्षायाममा आन्तरिक खपत भई बढी भएको विद्युत भारतको ‘डे-अहेड’ तथा ‘रियल टाइम’ बजारमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । यसका साथै हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौतामार्फत पनि बिजुली निर्यात भइरहेको छ ।
यद्यपि, नदीमा जलस्तर घट्ने सुख्खायाममा भने नेपालले अपुग विद्युत भारतको आईईएक्स र द्विपक्षीय सम्झौतामार्फत आयात गर्दै आइरहेको छ।