काठमाडौं । लक्ष्मी सनराइज बैंकको सञ्चालक समिति ६ सदस्यीय बनाइने भएको छ । बैंक सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले सञ्चालकको संख्या थपेर ६ सदस्यीय बनाउने निर्णय गरेको कम्पनी सचिव पीयूष राज अर्यालले जानकारी दिए ।
हाल बैंकको सञ्चालक समिति ५ सदस्यीय रहेको छ । सञ्चालक समितिको संरचना हेरफेरको प्रस्ताव पारित गर्न बैंकले २५औँ वार्षिक साधारण सभा पुस १४ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।
हाल बैंकमा संस्थापक सेयरधनीहरूको ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको ४९ प्रतिशत सेयर स्वामित्व छ । अब नयाँ संरचना अनुसार सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट ३ जनाले प्रतिनिधित्व गर्नेछन् । साथै, सर्वसाधारण सेयर समूहबाट २ जना र एक जना स्वतन्त्र सञ्चालक गरी ६ जनाको सञ्चालक समिति गठन गर्ने तयारीसहित प्रस्ताव गरिएको उनले बताए ।
उनका अनुसार हाल संस्थापक समूहबाट प्रतिनिधित्व गर्दै रमण नेपाल अध्यक्ष र मनोज कुमार भट्टराई सञ्चालक छन् । यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट दिनेश पौड्याल र स्वाती रूङ्गटा र विद्या बस्नेत स्वतन्त्र सञ्चालक छन् ।
राष्ट्र बैंकको व्यवस्था अनुसार ५ देखि ७ जनाको सञ्चालक समिति बनाउनुपर्छ । ‘६ जनाको सञ्चालक समिति बनाउन पाइन्छ । मर्जर अगाडि पनि ६ जनाको सञ्चालक समिति थियो,’ उनले भने ।
उपसमितिका लागि सञ्चालक कम भएकाले संख्या थप्नु परेको उनले बताए । राष्ट्र बैंकले अनिवार्य गठन गर्नुपर्ने अडिट, एएमएल, एचआर लगायत कमिटीमा कम भइरहेकाले संख्या थप्न परेको उनको भनाइ छ । संस्थापक समूहबाट हाल २ वटा सिट रहेकोमा अब बढाएर ३ वटा सिट पुर्याउन लागिएको उनले बताए ।
कुनै निर्णय गर्दा मत विभाजन भइ ३/३ भयो भने समस्या आउन सक्छ की भन्ने प्रश्नमा उनले भने, ‘बैंकमा समस्या आउनु ठिक होइन । अहिलेसम्म समस्या आएको छैन । यदि सञ्चालक समितिमा चुनाव गरेर अध्यक्षको भोटिङ राइट प्रयोग गर्ने हो भने त्यो बैंक ठिक होइन । त्यो स्थिति नसोचेर काम गर्न खोजेको हो ।’
बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले २ अर्ब ४३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशतका दरले १२ करोड ८१ लाख ३९ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले पुस १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।