काठमाडौं । पूर्वबैंकर नारायणदास मानन्धरको निधन भएको छ । प्राइम बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको स्रोतले जनाएको छ ।
५५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका मानन्धरले विसं २०८० साउन १६ गते अवकाश पाएका थिए । प्राइममा उनले १६ वर्ष सीईओको भूमिका निर्वाह गरेका थिए ।
बैंकिङ क्षेत्रमा एक हस्तीमा रूपमा चिनिएका मानन्धरले प्राइम बैंकलाई छोटो समयमै उचाइमा पुर्याएका थिए ।
विसं २०२५ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका मानन्धर ८० वर्षको उमेरसम्म सक्रिय रहेका थिए । केही समय युवक मावि र युथ क्याम्पसमा अध्यापनसमेत गरेका मानन्धरले धानचामल गोदाम व्यवस्थापन कम्पनीको महाप्रबन्धक समेत बनेका थिए ।
उनले सुरुमा भूमिसुधार तथा बचत सहकारी संस्थामा काम गरेका थिए । त्यो सहकारी संस्था कृषि विकास बैंकमा गाभिएपछि उनी पनि कृषि विकास बैंकमा आबद्ध भए । त्यसपछि उनले राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापनमा रहेर लामो समय काम गरेका थिए ।
नेपालमा समस्याग्रस्त बैंकहरूको सुधार गर्ने व्यक्तिको छवि बनाइसकेका मानन्धरले विसं २०६१ सालमा राष्ट्रिय वाणिज्य बैंकबाट अवकाश लिएका थिए ।
साथै उनले तत्कालीन नेपाल बंगलादेश बैंक र लुम्बिनी बैंकको सीईओको समेत भूमिका निर्वाह गरेका थिए ।
मानन्धरलाई बैंकिङ क्षेत्रमा धेरैले प्रेरणाको स्रोतका रूपमा पनि लिने गर्छन् । बैंकका सञ्चालक डा. गजेन्द्र विष्टका अनुसार मानन्धर श्री १००८ ब्रम्हवित परमहंस योगी सच्चितानन्द सरस्वती खप्तड बाबाका अनुयायी समेत रहेको उनले बताए ।
नेपाल राष्ट्र बैंकले बैंकका सीईओले दुई कार्यकाल बढी समय काम गर्न नपाउने व्यवस्था गरेपछि उनी अदालतसमेत पुगेका थिए । पछि सर्वोच्च अदालतले उनलाई काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।
उनको शोभाभगवतीमा दाहसंस्कार हुँदैछ ।