‘विराट ट्रेड एक्स्पो २०२५’ पुस ९ देखि सुरु हुने, आर्थिक पुनरुत्थानमा केन्द्रित

काठमाडौं । मोरङ उद्योग व्यापार संघले ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । आगामी पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा सञ्चालन हुने यो एक्स्पोले आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्य राखेको छ ।

विराटनगर–२, शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालयको छेउमा अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन गरिनेछ । संघका अध्यक्ष अनुपम राठी र संयोजक अमितकुमार शारदाद्वारा जारी विज्ञप्तिमा जेन्जी आन्दोलनपछि उत्पन्न आर्थिक अनिश्चिततालाई तोड्ने यो मेलाले ठूलो भूमिका खेल्ने दाबी गरिएको छ ।

मेलाले मोरङ–सुनसरी औद्योगिक करिडोरको प्रवर्द्धन र अर्थतन्त्रको पुनरुत्थानलाई मुख्य लक्ष्य बनाएको छ । कोशी प्रदेशका स्वदेशी उत्पादन, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको प्रवर्द्धनमा एक्स्पोले जोड दिनेछ । साथै नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका वस्तुहरूको बजार विस्तार गर्ने उद्देश्य पनि रहेको छ ।

मेलालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारीअनुसार जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० स्टल राखिनेछन् । प्रदर्शनीमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनका साथै भारत, बंगलादेश र पाकिस्तानका उत्पादन पनि समावेश हुनेछन् ।

एक्स्पोले ज्ञान, प्रविधि र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै स्टार्टअप, सूचना प्रविधि, कर–लेखा र महिला उद्यमशीलता प्रवर्द्धन सम्बन्धि विशेष स्टल राख्नेछ । नयाँ उद्यमीलाई स्टार्टअप सञ्चालन, व्यवसाय विस्तार र डिजिटल ज्ञानबारे जानकारी दिने विभिन्न गोष्ठी र अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

दर्शकको मनोरञ्जनका लागि हरेक साँझ राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड तथा कलाकारहरूको प्रस्तुति हुने छ। मेलामा सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेल र नेपाली कला–संस्कृति झल्काउने आकर्षक प्रवेशद्वार निर्माण गरिनेछ ।

मेलाको मुख्य प्रायोजक ‘रमपम तयारी चाउचाउ’ र ‘मारुती सिमेन्ट’ रहेका छन् । नेपाल तथा भारतका सीमावर्ती क्षेत्रबाट करिब २ लाख दर्शकले एक्स्पो अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मोरङ उद्योग व्यापार संघ विगतमा पनि कोशी महोत्सव, पूर्वाञ्चल औद्योगिक व्यापार मेला र विराट महोत्सव जस्ता कार्यक्रम गर्दै आएको छ ।

Share News