काठमाडौं । भारतको आर्थिक राजधानी मुम्बईमा नोभेम्बर महिनामा सम्पत्ति (प्रोपर्टी) बिक्रीका सबै रेकर्ड ब्रेक भएका छन् । मुम्बई भारतकै सबैभन्दा ठूलो र सबैभन्दा महँगो प्रोपर्टी बजार मानिन्छ ।
सहरमा भइरहेको ठूला पूर्वाधार (इन्फ्रास्ट्रक्चर) र कनेक्टिविटी प्रोजेक्टहरूको कारण सहरको स्वरूप बदलिँदै गएको छ, जसले गरेर प्रोपर्टीको माग पनि तीव्र रूपमा बढेको छ ।
नोभेम्बरमा मात्रै सहरमा १२ हजार २१९ प्रोपर्टीहरूको दर्ता (रजिष्ट्रेशन) भयो, जुन गत वर्षको तुलनामा २० प्रतिशत बढी हो । यसले सरकारी आम्दानीमा पनि ठूलो लाभ पुर्याएको छ ।
रजिष्ट्रेशन र स्टाम्प ड्युटीमार्फत राज्य सरकारले १ हजार ३८ करोड भारु राजस्व आर्जन गरेको छ, जुन गत वर्षभन्दा १२ प्रतिशत बढी हो । यो विवरण महाराष्ट्रका इन्स्पेक्टर जनरल अफ रजिष्ट्रेशन एण्ड कन्ट्रोलर अफ स्ट्याम्प्सका तथ्यांकबाट पत्ता लागेको हो ।
द इकोनोमिस्ट टाइम्सको एक रिपोर्टअनुसार नाइट फ्र्यांक इन्डियाका सीएमडी शिशिर बैजल भन्छन्, ‘मुम्बईको आवासीय बजार नोभेम्बरमा पनि राम्रो गतिमा नै छ । सबै सेग्मेन्टमा माग बलियो छ र मानिसहरू उच्च श्रेणीका तथा महँगा घरतर्फ बढी आकर्षित भइरहेका छन् । पहिलो ११ महिनामा १ लाख ३५ हजारभन्दा धेरै युनिट दर्ता भइसकेका छन्, जसले बजारलाई धेरै सबल स्तरमा पुर्याएको छ । प्रत्येक महिनाको गतिविधि स्थिर र सन्तोषजनक छ । भोल्युम र राजस्व दुबैमा देखिएको स्थिरता मुम्बईमा परिपक्व माग चक्र र घर किन्नेबाहरूको विश्वासलाई देखाउँछ ।’
यस वर्षका पहिलो ११ महिनामा मुम्बईमा १ लाख ३५ हजार ८०७ प्रोपर्टी डिल भएका छन् । जसबाट सरकारले १२ हजार २२४ करोड रुपैयाँ राजस्व पाएको छ । यो वर्ष सम्पत्ति बिक्रीका हिसाबले ‘रेकर्ड ब्रेकिङ’ वर्ष साबित भएको छ ।
रजिष्ट्रेशन गत वर्षको तुलनामा ५ प्रतिशत बढेको छ भने राजस्व ११ प्रतिशतले बढेको छ ।
नोभेम्बरमा दर्ता भएका जम्मा प्रोपर्टीमध्ये ८० प्रतिशत आवासीय (रेजिडेन्सियल) थिए । ठूला र प्रिमियम घरहरू प्रति आकर्षण बढेको छ ।
५ करोड रुपैयाँभन्दा बढी मूल्यका घरहरूको हिस्सा ७ प्रतिशत पुगेको छ जुन गत वर्ष ५ प्रतिशत थियो ।
१–२ करोड मूल्यका घरहरूको हिस्सा ३३ प्रतिशत रहेको छ भने १ करोडभन्दा कम मूल्यका घरहरूको हिस्सा घटेर ४२ प्रतिशत मात्र रहेको छ ।
२–५ करोड मूल्यका घरहरूको हिस्सा १८ प्रतिशत स्थिर यसले कम मूल्यका घरहरू महँगिँदा किन्न कठिन भइरहेको संकेत गर्छ ।