जेनजी क्षतिको भुक्तानीमा बीमा कम्पनीहरूको सुस्तता, तीन महिना बित्दा १८ प्रतिशतमात्रै भुक्तानी

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भएको क्षतिको दाबी भुक्तानीमा बीमा कम्पनीहरूको सुस्तता देखिएको छ । क्षति भएको तीन महिना बितिसक्दा पनि निर्जीवन बीमा कम्पनीहरूले हालसम्म क्षतिको १८ प्रतिशतको हाराहारीमा मात्रै दाबी बापतको भुक्तानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बीमा कम्पनीहरूले ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । यो कुल दाबीमध्ये १८.७ प्रतिशत मात्रै भुक्तानी हो ।

जेनजी आन्दोलनको क्रममा भएको भौतिक क्षति तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार ३०० वटा बीमा दाबीको २३ अर्ब ४४ करोड रुपैयाँ दाबी परेको थियो ।

सञ्चालनमा रहेको १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, ३ अर्ब २१  करोड ८९ लाख सम्पत्ति बीमातर्फ, १ अर्ब ८ करोड मोटर बीमातर्फ, ६ करोड ८१ लाख इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ, ६६ लाख परिवहन र अन्यतर्फ ३९ लाख रुपैयाँ भुक्तानी भएको छ ।

पुनर्बीमा कम्पनीबाट २ अर्ब ५६ करोड भुक्तानी 

पछिल्लो तथ्यांकअनुसार जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब  २ अर्ब ५६ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६१ वटा पुनर्बीमा दाबीको दाबी रकम करिब  १५ अर्ब ८१ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

Share News