काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सुरक्षा गरुड सेक्युरिटीजले गर्ने भएको छ । बैंकले देशभरका शाखा कार्यालय सुरक्षाको जिम्मेवारी गरुड सेक्युरिटीज प्रालिलाई दिएको हो ।
बैंकको सामान्य सेवा विभागका अनुसार साढे ९ सय जना भन्दा बढी सुरक्षा श्रमिक भर्ना गर्ने गरी गरुड सेक्युरिटीज छनोट भएको हो । सुरक्षा श्रमिक भर्ना गरेबापत बैंकले गरुड सेक्युरिटीजलाई ७४ करोड ५३ लाख १३ हजार ६७९ रुपैयाँ भुक्तानी गर्नेछ ।
सुरक्षा श्रमिक आपूर्ति गर्न बैंकले गत असारमा बोलपत्र आह्वान गरेको थियो । बैंकले आह्वान गरे बमोजिम नेपाल एक्स–टू सेक्युरिटी सर्भिस प्रालि, जेभी नेम डिलक्स सेक्युरिटी सर्भिस प्रालि तथा नवदुर्गा सेक्युरिटी गार्ड सप्लाइ सेक्युरिटी प्रालि, गरुड सेक्युरिटीज प्रालि, कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि र गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिले आवेदन दिएका थिए ।
बोलपत्र पेस गरेका यी ५ कम्पनीलाई मंसिर २ गते बैंकको सामान्य सेवा विभागमा बोलाएको थियो । बैंकले गोलाप्रथाका माध्यमबाट कम्पनी छनोट गर्ने जनाएको थियो ।