विश्वकै सबैभन्दा ठूलो आईपीओ ल्याउँदै एलन मस्क

आईपीओबाट ३० अर्ब डलरभन्दा बढी रकम जुटाउन सक्ने अनुमान

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क नयाँ इतिहास बनाउन लागेका छन् । उनको कम्पनी स्पेसएक्सले आउँदो वर्ष २०२६ मा विश्वकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरिरहेको छ । 

स्रोतका अनुसार कम्पनीले यो आईपीओबाट ३० अर्ब डलरभन्दा बढी रकम जुटाउन सक्छ । यसपछि कम्पनीको मूल्यांकन करिब १.५ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ ।

हाल भइरहेको सेकेन्डरी अफरिङमा स्पेसएक्सको सेयर मूल्य करिब ४२० डलर तोकिएको छ । यसले कम्पनीको मूल्यांकन ८०० अर्ब डलरभन्दा माथि पुगेको छ । यदि स्पेसएक्सले यो मूल्यांकनमा कम्पनीको ५ प्रतिशत हिस्सा बिक्री गर्छ भने उसले ४० अर्ब डलर बराबरका सेयर बेच्नु पर्ने हुन्छ । यसले यसलाई इतिहासकै सबैभन्दा ठूलो आईपीओ बनाइदिनेछ । स्पेसएक्स अहिले विश्वको सबैभन्दा मूल्यवान स्टार्टअप कम्पनी मानिन्छ ।

स्पेसएक्सको म्यानेजमेन्ट र सल्लाहकारहरू २०२६ को मध्यदेखि अन्त्यसम्म आईपीओ ल्याउने प्रयासमा छन् । तर बजार परिस्थितिसहितका केही अन्य कारणहरूले यो मिति सरेर २०२७ सम्म पनि जान सक्ने बताइन्छ । स्पेसएक्सले यसबारे तत्काल कुनै टिप्पणी गरेको छैन । 

अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोको हो, जसले २०१९ मा आईपीओमार्फत २९ अर्ब डलर जुटाएको थियो । कम्पनीले त्यतिबेला केवल १.५ प्रतिशत मात्र हिस्सेदारी बेचेको थियो ।

स्रोतका अनुसार मस्क र कम्पनीको बोर्ड अफ डायरेक्टरले पछिल्लो समय आईपीओ तथा फन्ड जुटाउने योजनाहरूलाई तीव्रता दिएका छन् । स्पेसएक्सको आईपीओको मार्ग छिटो बन्नुको मुख्य कारण यसको तीव्र गतिमा विस्तार भइरहेको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा हो । यसमा डायरेक्ट–टु–मोबाइल व्यवसायको सम्भावना पनि समावेश छ । साथै चन्द्रमा र मंगल ग्रहका लागि स्टारशिप रकेट विकास पनि अर्को महत्त्वपूर्ण कारण हो ।

एक स्रोतका अनुसार २०२५ मा कम्पनीको रेभिन्यू करिब १५ अर्ब डलर रहने अनुमान छ । २०२६ मा यो बढेर २२ देखि २४ अर्ब डलरको बीच पुग्न सक्छ, जसको ठूलो हिस्सा स्टारलिंक सेवाबाट आउनेछ । 

स्पेसएक्सले आईपीओबाट जुटाएको केही रकम अन्तरिक्ष आधारित डेटा सेन्टर विकास गर्न प्रयोग गर्नेछ । यसका लागि आवश्यक चिप्स खरिद पनि त्यसमै समावेश हुनेछ ।

स्पेसएक्स अमेरिकी निजी अन्तरिक्ष कम्पनी हो जसलाई मस्कले सन् २००२ मा स्थापना गरेका हुन् । यसको मुख्य उद्देश्य अन्तरिक्ष यात्रालाई सस्तो, सुरक्षित र दीर्घकालीन रूपमा सम्भव बनाउनु र भविष्यमा मानिसलाई मंगल ग्रहमा बसोबास गर्न सक्षम बनाउनु हो ।

स्पेसएक्सले विकसित गरेको फाल्कोन ९ र फाल्कोन हेभी जस्ता पुनःप्रयोगयोग्य रकेटहरू अहिले विश्वका सबैभन्दा भरोसायोग्य लन्च भेहिकल मानिन्छन् । रकेटलाई अवतरण गराएर पुनः प्रयोग गर्ने प्रविधि सुरु गरेको पहिलो निजी कम्पनी यही हो, जसले अन्तरिक्ष मिशनको लागत धेरै घटाएको छ ।

यसैबीच, कम्पनीको क्रू ड्रेगन स्पेसक्राफ्टले नासाका अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म पुर्याउँदै इतिहास रच्यो । निजी क्षेत्रबाट मानव अन्तरिक्ष उडान सफल बनाउने स्पेसएक्स पहिलो कम्पनी बनेको थियो ।

इलेक्ट्रोनिक संचारको क्षेत्रमा पनि स्पेसएक्सले स्टारलिंक परियोजनामार्फत नयाँ क्रान्ति ल्याइरहेको छ । हजारौं उपग्रहमार्फत विश्वका दुर्गम क्षेत्रसम्म तीव्र र स्थिर इन्टरनेट सेवा पुर्याउने यो परियोजनाले धेरै देशमा सेवा विस्तार गरिसकेको छ ।

कम्पनीको सबैभन्दा महत्त्वाकांक्षी योजना भनेको स्टारशीप हो जुन मानवलाई चन्द्र र मंगलसम्म लैजाने लक्ष्यसहित विकास भइरहेको विश्वकै सबैभन्दा शक्तिशाली रकेट मानिन्छ । 

Share News