काठमाडौं । अमेजन इन्डिया भारतमा ठूलो लगानी गर्न तयारी गर्दैछ, जसले लाखौं नयाँ रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । कम्पनीले पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत भारतमा आफ्नो कारोबार व्यापक रूपमा विस्तार गरिनेछ । यसबाट अन्य क्षेत्रका मानिसहरू पनि प्रत्यक्ष लाभान्वित हुने कम्पनीले बताएको छ ।
बुधबार अमेजन इन्डियाले २०३० सम्म भारतमा आफ्ना सबै व्यवसायहरूमा ३५ अर्ब डलर (करिब ५.०४ खर्ब रुपैयाँ) भन्दा बढी लगानी गर्ने घोषणा गरेको हो । यो लगानी भारतमा अहिलेसम्म भइसकेको करिब ४० अर्ब डलरको लगानीमा थप हुने बताइएको छ । कम्पनीले आगामी पाँच वर्षमा १० लाखभन्दा धेरै रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।
यो लगानी व्यवसाय विस्तारसँगै एआई सञ्चालित डिजिटलीकरण, निर्यात वृद्धि र रोजगार सिर्जना गरी तीन मुख्य क्षेत्रमा केन्द्रित रहने कम्पनीले जानकारी गराएको छ।
अमेजनका वरिष्ठ उपाध्यक्ष (इमर्जिङ मार्केट्स) अमित अग्रवालका अनुसार निर्यातको वृद्धिदर आगामी वर्षहरूमा पनि यस्तै रहने अपेक्षा गरिएको छ । अमेजन ग्लोबल सेलिङका १० वर्ष पूरा हुँदा अमेजनमार्फत भारतको निर्यात २० अर्ब डलर नाघेको घोषणा गरिएको छ । कम्पनीले २०३० सम्म भारतबाट हुने कुल ईकमर्स निर्यात ८० अर्ब डलर पुर्याउने लक्ष्य राखेको छ ।
यस लक्ष्यतर्फ महत्त्वपूर्ण कदमका रूपमा अमेजनले बुधबार ‘एक्सेलरेट एक्सपोर्ट्स’ कार्यक्रम सुरु गरेको छ । यो एक उत्पादन–केन्द्रित पहल हो, जसले डिजिटल उद्यमीहरूलाई भरपर्दो उत्पादकहरूसँग जोड्दछ र तिनलाई सफल ग्लोबल सेलर बन्न सहयोग गर्छ । कार्यक्रमअन्तर्गत अमेजनले भारतका १० भन्दा धेरै म्यानुफ्याक्चरिङ क्लस्टरहरूमा ‘अन–ग्राउन्ड अनबोर्डिङ ड्राइभ’ सञ्चालन गर्नेछ ।
अग्रवालका अनुसार २०३० सम्म कम्पनीले १.५ करोड साना व्यवसाय र करोडौं ग्राहकलाई एआईका फाइदाबारे अवगत गराउनेछ । साथै ४० लाख सरकारी विद्यालयका विद्यार्थीलाई एआई शिक्षा तथा करिअर अवसर उपलब्ध गराउने योजनासमेत छ ।
कम्पनीका अनुसार यस नयाँ लगानीले अमेजनले देशभर डिजिटल रूपान्तरणलाई थप तीव्र बनाउन, पूर्वाधार मजबुत पार्न र नयाँ विचारहरूलाई प्रोत्साहन दिन मद्दत गर्नेछ ।