काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएपछि असुल भएको ब्याज आम्दानीबाट लाभांश वितरण गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आर्थिक वर्षको अन्त्यसम्म असुल भएको ब्याज आम्दानीबाट लाभांश वितरण गर्न निर्देशन जारी गरेको हो ।
पहिले बक्यौता रहेको ब्याज आर्थिक वर्ष सकिएको १५ दिनभित्र असुल भएमा अघिल्लो आर्थिक वर्षको आम्दानीमा समावेश गरी लाभांश वितरण गर्न सकिने व्यवस्था थियो । तर राष्ट्र बैंकले यो व्यवस्था संशोधन गर्दै असार मसान्तसम्म असुल भएको ब्याजको मात्र आम्दानी जनाउन सकिने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार लेखाङ्कन गरिएको कर्जाको ब्याज आम्दानीमध्ये प्रोदभावी आधारमा लेखाङ्कन गरिने ब्याज आम्दानीमध्ये प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसारको आयकर तथा कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफालाई खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नु पर्नेछ । उक्त ब्याज रकम प्राप्त हुन आएमा नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
यसले बैंक तथा वित्तीय संस्थाहरूको लाभांश वितरणमा पारदर्शिता र वित्तीय स्थायित्व सुनिश्चित गर्ने राष्ट्र बैंकको उद्देश्य रहेको जनाइएको छ ।