काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीमाथि आक्रमण गर्ने सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका संचालकलाई कारबाही गर्न चार बैंकिङ संघहरूले संयुक्त रूपमा माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
संयुक्त विज्ञप्तिमा चारै संघले कर्जाको किस्ता नियमित गर्न छलफलका लागि बोलाइएका बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार र आक्रमण गरेको घटनालाई 'अमानवीय' र 'गम्भीर अपराध' भनेका छन् ।
‘नियामक निकायबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन–कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह, वित्तीय सेवा प्रदान लगायत विभिन्न कार्यहरू सञ्चालन गरी आम जनता तथा देशको समग्र प्रगतिका लागि आत्मसाथ गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय विभिन्न अराजक गतिविधिको निशानामा परिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
साथै संघहरूले कानुनको पालना नगरी आफ्नै हातमा शक्ति प्रयोग गरी बैंक कर्मचारीमाथि आक्रमण भएको घटनाको घोर निन्दा गर्दै अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा कारवाही गर्न जोड दिएका छन् । घटना भएको दिन सूचना दिइए पनि तत्काल सम्बोधन नभएको प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
‘यस्ता अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गरी कर्मचारीहरूको मनोबल उच्च बनाई शान्ति सुरक्षाको अनुभूति प्रदान गर्नु पर्नेमा सम्बन्धित निकायमा घटना घटेकै दिन समयमै जानकारी गराइएता पनि तत्काल सम्बोधन हुन नसकेको प्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
साथै सुरक्षा निकायबाट स्वतः रुपमा अनुसन्धान अगाडि बढाउनु पर्नेमा जाहेरी दर्ता नहुनु अत्यन्त खेदनीय भएकोले सो सम्बन्धमा स्थानीय प्रहरी प्रशासनको समेत गम्भीर कमजोरी देखिएको हुँदा यथाशिघ्र अपराधीहरूलाई कानुनी दायरमा ल्याउन संघहरूले ध्यानाकर्षण गराएका छन्र ।
भविष्यमा यस्ता अपराध दोहरिन नदिने वातावरण सुनिश्चित गर्न, सूचना नआए पनि सम्बन्धित सरकारी निकायले स्वतः अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । साथै, बैंक तथा वित्तीय संस्थाप्रति हुने अराजक गतिविधिहरू रोक्न सर्वसाधारणलाई सजग र जिम्मेवार रहन आग्रह गरिएको छ ।