नेतृत्व चयनका लागि मतदाता लाइन लागे, ओली–पोखरेल एकैसाथ मतदानस्थलमा

काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरू मतदानमा सहभागी हुन उत्साहपूर्वक लाइनमा बसेका छन् । देशभरबाट महाधिवेशन प्रतिनिधिहरू पालो कुर्दै लामबद्ध भएका हुन् ।

साथै मतदान गर्न अध्यक्ष पदका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल एकैसाथ मतदान स्थल आइपुगेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित मतदानस्थल हलमा ओली र पोखरेल एकैसाथ मतदान स्थल आइपुगेका हुन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार प्राविधिक तथा व्यवस्थापनसम्बन्धी अन्तिम तयारी पूरा भएपछि केही समयमै मतदान प्रक्रिया औपचारिक रूपमा सुरु गरिनेछ ।

विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरिने भएकाले उम्मेदवारहरूको विवरण अन्तिम रूपमा प्रणालीमा प्रविष्ट गर्ने काम चलिरहेको आयोगले जनाएको छ ।

मतदान अझै सुरु नभइसके पनि प्रतिनिधिहरूमा मतदानप्रतिको उत्साह र चासो देखिएको छ। मतदानस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्वयंसेवकहरू व्यवस्थापनमा खटिएका छन् ।

महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यहरूको चयन हुने भएकाले यस निर्वाचनलाई एमालेको भावी राजनीतिक दिशा र नेतृत्व निर्धारण गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ ।

प्रतिनिधिहरूको ठूलो उपस्थिति र चासोले महाधिवेशनको अन्तिम चरण थप निर्णायक बन्दै गएको संकेत गरेको छ ।

Share News