काठमाडौं । ललितपुर महानगरपालिकाले पछिल्ला वर्षहरूमा अघि सारेका विकास, सुशासन र सेवा प्रवाहसम्बन्धी कामहरू महानगरभित्र मात्रै नभएर अन्य स्थानीय तहको लागि पनि उदाहरणीय बन्दै गएको महानगरका मेयर चिरीबाबु महर्जनले बताएका छन् ।
ललितपुर महानगरको १०७ औं स्थापना दिवसको अवसरमा मेयर महर्जनले महानगरले गरेको कामहरू उत्प्रेरक खालको भएको भन्दै त्यसबाट पालिकाले पनि सिक्न र अनुसरण गर्न सक्ने बताएका हुन् ।
‘महानगरपालिकामा जे जति हामीले कामहरू गर्यौं, ती कामहरू उत्प्रेरक खालको छ, अरूले पनि अनुसरण गर्न मिल्ने किसिमले गर्दै आइरहेका छौं,’ प्रमुख महर्जनले भने ।
महानगरपालिकाले योजनाबद्ध विकास, पारदर्शिता, नागरिक सहभागिता र दिगोपनालाई प्राथमिकतामा राख्दै काम गरिरहेको महर्जनले बताए ।
त्यस्तै, उनले महानगरभित्र जनप्रतिनिधि, कर्मचारीबीच राम्रो मेलमिलाप रहेको र त्यसले नै हरेक कार्यक्रम सफललतापूर्वक गर्दै आइरहेको उल्लेख गरे ।
प्रमुख महर्जनले आगामी फागुन २१ गते सम्पन्न हुन लागेको चुनावमा सबैले सहयोग गर्न आग्रह गरेका छन् ।
उनले पछिल्लो समय जेनजीले चुनाव हुन दिन्न भनेर आवाज उठाउन थालेपछि त्यसो नगर्न र जसरी पनि चुनाव गराउनको लागि वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।
‘ फागुन २१ गते चुनाव नगराउने भनेर जेनजीले नै स्वर परिवर्तन गरेको छ, त्यसो नगर्नुस्, जसरी पनि चुनाव गराउन सहयोग गर्नूस्,’ मेयर महर्जनले भने, जेनजीहरू भाइबहिनीहरू सानै छन्, अलिकति बुद्धि पलाएको छैन, बुद्धि पलाओस् ।’
महानगरले स्थापना दिवसको अवसरमा सबैभन्दा धेरै कर बुझाउने संस्था, व्यक्ति, उत्कृष्ट कर्मचारीलगायत विभिन्न क्षेत्रमा योगदान दिनेहरूलाई सम्मानसमेत गरेको छ।