नेपाल र संयुक्त राष्ट्र संघको साझेदारीका ७० वर्ष, प्रधानमन्त्रीले दोहोर्‍याइन् प्रतिबद्धता

काठमाडौं । नेपाल र संयुक्त राष्ट्रसंघबीचको साझेदारीका ७० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्रसंघप्रति नेपालको प्रतिबद्धता पुनःदोहोर्याएकी छन् । 

नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले शान्ति, विकास र मानव अधिकारका क्षेत्रमा संयुक्त राष्ट्रसंघले खेलेको भूमिकाको प्रशंसा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले संयुक्त राष्ट्रसंघ विश्व शान्ति, दिगो विकास र मानवीय सहयोगका लागि महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै नेपालले सधैं संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तअनुसार काम गर्दै आएको बताएको रावलले जानकारी दिए । 

कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री कार्कीले शान्तिलाई समर्थन गर्ने कार्यमा नेपाल विश्वकै अग्रणी योगदानकर्ता राष्ट्र बनेकोमा गर्व व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा प्रधानमन्त्रीले आगामी फागुन २१ मा हुने निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताइन् ।

उनले २०२६ सम्ममा नेपाल अल्पविकसित देशको सूचीबाट विकासशील हुने लक्ष्यतर्फ अग्रसर रहेको उल्लेख गरिन् । 

यस उपलब्धिलाई दिगो बनाउन लगानी, प्रविधि र संयुक्त राष्ट्रसंघसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताउँदै उनले नेपाल भविष्यमा पनि संयुक्त राष्ट्रसंघको विश्वसनीय साझेदार रहने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

Share News