काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको यथार्थ उजागर गर्न गठित जाँचबुझ आयोगले आफ्नो काम अझै अधुरो रहेको जनाउँदै सरकारसँग एक महिनाको म्याद थपको आग्रह गरेको छ ।
आयोगका पदाधिकारीहरूले बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी म्याद थपका विषयमा छलफल गरेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए ।
पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा ५ असोजमा गठन भएको जाँचबुझ आयोगको कार्यकाल सकिन लाग्दा पनि बयान लिने प्रक्रिया जारी रहेकाले थप समय आवश्यक परेको आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष कार्कीले केही महत्त्वपूर्ण व्यक्तिहरूको बयान लिन बाँकी रहेकाले एक महिना समय अपुग भएको भन्दै प्रधानमन्त्रीसमक्ष म्याद थपको प्रस्ताव राखिएको जानकारी दिए ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आयोगको कामको गम्भीरतालाई ध्यानमा राख्दै समय थप गर्ने आश्वासन दिएको उनले बताए ।
उनले आगामी सातादेखि पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको पनि उल्लेख गरे ।
आयोगले यसअघि नै जेनजी घटनासम्बन्धी सुरक्षा निकाय र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । तीन महिनाको म्यादसहित असोज ५ गते गठन भएको आयोगले असोज ९ गतेदेखि औपचारिक रूपमा काम थालेको थियो ।
आयोगको म्याद पुस ९ गते सकिँदैछ । सत्यतथ्यमा आधारित प्रतिवेदन तयार पार्न थप एक महिना समय आवश्यक रहेको निष्कर्ष आयोगले निकालेकोले आयोगको म्याद थप्न आग्रह गरिएको कार्कीले जानकारी दिए ।