काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दरबारमार्गस्थित नेपाल ट्रस्टको दुई रोपनी जग्गा लिजमा दिने क्रममा भएको ठगी प्रकरणमा मुद्दा दायर गरेको छ । बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत, काठमाडौंमा उक्त मुद्दा पेश गरेको हो ।
सीआईबीको करिब एक महिनासम्मको अनुसन्धानपछि, नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थमसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभ लिएको आरोप लाग्ने देखिएको थियो ।
अनुसन्धान प्रतिवेदनअनुसार जग्गा लिज प्रक्रियामा अनियमितता भएको र यसबाट आर्थिक लाभ हरण भएको ठहर गरिएको छ ।
उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि १ अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको र उक्त सम्झौता नियम संगत नदेखिएको र ठगी गरेको सीआईबीको निष्कर्ष छ ।