एमाले महाधिवेशन : मतदान क्षेत्रमा प्रवेश गर्ने समय अवधि थप, हालसम्म ११ सय बढीले गरे मतदान

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय थप गरिएको छ । 

मतदान प्रक्रिया अपेक्षाकृत ढिलो भइरहेकाले सबै प्रतिनिधिले मताधिकार प्रयोग गर्न पाउन समय थप गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार विद्युतीय मतदान प्रणालीमार्फत मतदान भइरहेकाले एक मतदाताले सबै पदका लागि मत खसाल्न धेरै समय लागिरहेको छ । यही कारणले निर्धारित समयभित्र सबै प्रतिनिधिको मतदान सम्पन्न हुन नसक्ने देखिएपछि मतदान समय लम्ब्याउने निर्णय गरिएको हो ।

राति ८ बजेसम्म मतदान क्षेत्रमा प्रवेश गर्न पाउने अवधि बढाएर १० बजे पुर्याइएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

भृकुटीमण्डपस्थित मतदानस्थलमा बुधबार बिहानदेखि नै प्रतिनिधिहरूको लामो लाइन देखिएको छ । धेरै  प्रतिनिधिले मतदान गर्न आधा घण्टाभन्दा बढी समय लागेको बताएका छन् । एकजना प्रतिनिधिले १९ मिनेटमा मतदान कार्य सम्पन्न गरेका थिए । 

त्यही मतदान गर्न अर्का एक प्रतिनिधिले एक घण्टा ८ मिनेट लगाएको एक मतदान अधिकारीले जानकारी दिए । आयोगले मतदान प्रक्रिया व्यवस्थित बनाउन थप प्राविधिक र जनशक्ति परिचालन गरेको जनाएको छ ।

समाचार तयार पार्दा सम्म १ हजार १७८ जनाले मतदान गरेका छन् ।

मतदान सम्पन्न भएपछि विद्युतीय प्रणालीमार्फत मतगणना सुरु गरिने र नतिजा छिटो सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिको भनाइ छ ।

Share News