अध्यक्षमा ओलीको ह्याट्रिक

काठमाडौं । केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा लगातार तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे ।

यसअघि नवौं र दशौं महाधिवेशनमा पनि ओली नै अध्यक्ष बनेका थिए ।

ओलीको जन्म २००८ फागुन ११ गते तेह्रथुम जिल्लामा भएको हो । उनको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको हो । झापा आन्दोलनको समयमा उनी कम्युनिष्ट राजनीतिमा सक्रिय भए । पञ्चायती शासनविरुद्ध भूमिगत आन्दोलनमा सहभागी हुँदा उनी पटक–पटक पक्राउ परे र करिब १४ वर्ष निरन्तर जेल जीवन बिताए । 

यही कालखण्डले उनलाई कट्टर कम्युनिष्ट कार्यकर्ता र अनुशासित संगठनकर्ता बनायो । २०४२ सालमा जेलमुक्त भएपछि ओली पुनः भूमिगत भए । 

२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था स्थापना भएलगत्तै ओली खुला राजनीतिमा आए । त्यसपछि नेकपा एमालेको संगठन विस्तार, आन्दोलन र संसदीय अभ्यासमा उनी सक्रिय भए । 

उनी एमालेभित्र व्यावहारिक राजनीतिका पक्षधर मानिन्थे । २०५० र २०६० को दशकमा ओली एमालेको केन्द्रीय नेतृत्वमा स्थापित भए । पार्टीभित्र स्पष्ट वक्तृत्व, राष्ट्रिय मुद्दामा कडा अडान र निर्णायक शैलीका कारण उनी फरकयो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए ।

ओली पटकपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका व्यक्ति हुन् । उनी विभिन्न समयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, परराष्ट्र मन्त्रीलगायत जिम्मेवारीमा रहे ।

२०७२ सालमा संविधान जारी भएपछि ओली पहिलो पटक प्रधानमन्त्री बने । त्यसबेला भारतसँगको नाकाबन्दीका समयमा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको मुद्दा उठाएर उनले व्यापक जनसमर्थन कमाए ।

२०७४ को निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनमार्फत उनी दोस्रो पटक प्रधानमन्त्री बने । यही कालखण्डमा चीनसँग पारवहन सम्झौता, ठूला पूर्वाधार योजनाहरू र समृद्ध नेपाल, सुखी नेपालीको  नारालाई अघि अघि बढाए ।

२०७१ असारमा सम्पन्न नवौं महाधिवेशनबाट ओली पहिलो पटक एमाले अध्यक्ष निर्वाचित भएका हुन् । एमालेका शक्तिशाली नेता माधव नेपाललाई पराजित गरेर ओली पहिलो पटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । 

त्यसपछि पार्टी एकता, विघटन, पुनः एमाले पुनःस्थापना जस्ता जटिल राजनीतिक प्रक्रियाको केन्द्रमा ओली रहे । माधव नेपाल, झलनाथ खनाललगायत नेतासँगको आन्तरिक संघर्षपछि उनले पार्टीमा आफ्नो पकड थप बलियो बनाए ।

दशौं र एघारौं महाधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित हुँदै उनले एमालेभित्र निर्णायक नेताको हैसियत कायम राखेका छन् ।

ओलीलाई समर्थकहरूले राष्ट्रवादी, स्पष्टवक्ता र दृढ नेतृत्वकर्ता मान्छन् भने आलोचकहरूले उनलाई सत्ता केन्द्रित र कठोर नेतृत्व शैली भएको नेता भन्छन् । यद्यपि तीन दशकभन्दा लामो राजनीतिक यात्रामा ओली नेपाली कम्युनिष्ट आन्दोलन र राज्य राजनीतिमा केन्द्रीय पात्रका रूपमा स्थापित रहेका नेता हुन् ।

Share News