काठमाडौं । खाद्य पदार्थको स्तर निर्धारण प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको आयोजना र नेपाल पाउरोटी उद्योग संघ, काठमाडौंको सहकार्यमा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल हार्ट फाउन्डेसनका वरिष्ठ सदस्य तथा स्त्री क्यान्सर रोग विशेषज्ञ डा। सुशीला वैद्यले ट्रान्स फ्याटले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धी जानकारीको कार्यपत्र प्रस्तुत गरिन् ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ सम्बन्धी जानकारीको कार्यपत्र र विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा। बालकुमारी शर्माले खाद्य पदार्थको अनिवार्य गुणस्तरको स्तर निर्धारण प्रकृया र खाद्य पदार्थमा ट्रान्स फ्याटको अनिवार्य गुणस्तर सम्बन्धी जानकारीको कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा विभागका उपमहानिर्देशक महिपाल राम वैद्यले बेकरीजन्य खाद्य पदार्थमा ट्रान्स फ्याटको जोखिम न्यूनीकरण गर्नका लागि आयात बिन्दुमा नियमन साथै नेपालको परिप्रेष्यमात्र नभई अन्तर्राष्ट्रिय अभ्यासहरू समेत मनन गर्नुपर्नेमा जोड दिए।
साथै ट्रान्स फ्याटसम्बन्धी समस्या हाल नेपालमा सार्वधिक जन चासोको विषय रहेको हुँदा सम्पूर्ण सरोकारवाला निकायहरू साथै विभागले हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासं का वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले समयानुकूल खाद्य पदार्थको गुणस्तरको सम्बन्धमा अन्तक्र्रियाहरू आवश्यक रहेको र यसमा महासंघ सहयोग गर्न सधैं तयार रहेको बताए ।
छलफलको क्रममा सहभागीहरूबाट ट्रान्स फ्याट सम्बन्धी समस्यालाई सम्बोधन गर्न उद्योगीले खेल्नुपर्ने मुख्य भूमिका नेपाल सरकारबाट निर्दिष्ट हुनुपर्ने, उपभोक्ता जनचेतना र उद्योगीलाई नियमन गर्ने कार्य समानान्तर हिसाबले अघि बढाउनुपर्ने, खाद्य स्वच्छता तथा गुणस्तर ऐन सम्बन्धी जनचेतना बढाउने किसिमका थप कार्यक्रमहरू हुनुपर्ने आदिजस्ता राय सुझाव प्राप्त भएका थिए ।
कार्यक्रममा बेकरी उद्योगी व्यवसायी, उद्योग वाणिज्य महासंघका पदाधिकारी, सरोकारवालाहरू र विभागका कर्मचारी गरी ९० जनाको उपस्थिति रहेको थियो ।