घण्टीघरमा रविले भने– जेनजी विद्रोहले उठाएका माग पूरा गर्नु अपरिहार्य छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जेनजी विद्रोहले उठाएका मागहरू पूरा गर्नु अपरिहार्य भएको समेत उनको भनाइ छ । उनले मुलुकमा सुशासन कायम गर्ने, जेनजीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पारे । 

सभापति लामिछानेले जेनजी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने समेत बताए । 

निर्वाचन बिथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यस्तो प्रयास सफल हुन नदिने चेतावनीसमेत उनले दिए ।

सभापति लामिछानेले भने, ‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन । जेनजी विद्रोहले गरेका अपेक्षा पुरा गर्नुको समेत विकल्प छैन । निर्वाचन बिथोल्नका निमित्त  भागेका केही शक्तिहरू लागिपरेका छन् । त्यस्तो गर्न जरुरी छैन, पार्टीको चुनाव जितेसँगै आम चुनाव पनि जिते भैगो नि ।’

उनले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरू आफ्नो रोटी सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने पनि बताए ।

Share News