नबिल बैंक मर्जरमा जाने कि विदेशी साझेदार भित्र्याउने, सेयरधनीहरूलाई ३.३८ अर्ब रुपैयाँ

काठमाडौं । नबिल बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा विदेशी रणनीतिक साझेदार भित्र्याउने निर्णय गरेको हो ।

सञ्चालक समितिको मर्जर सम्बन्धी निर्णय अनुमोदन गर्न बैंकले पुस २८ गते भित्रुभव आर्मी क्लब भद्रकाली काठमाडौंमा बिहान ११:१५ बजे ४१औँ वार्षिक साधारण सभा बोलाएको छ । 

सभाले गाभ्ने/गाभिन तथा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा चलअचल सम्पत्ति र दायित्व तथा कारोबार मूल्याङ्कनका लागि मूल्याङ्कनकर्ता नियुक्त गर्ने, गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्ने लगायत आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

यस्तै, बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार रुपैयाँको करसहित १२.५ प्रतिशतका दरले ३ अर्ब ३८ करोड २१ लाख २४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । 

यस्तै सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नबिल स्टक डिलरको गत वर्षको वित्तीय विवरण, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न बीआरएस न्यौपानेलाई पुर्ननियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । 

यस्तै, स्वतन्त्र सञ्चालक सरिता भट्ट अधिकारीको नियुक्ति अनुमोदन गर्ने र संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ । 

गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने, नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ । 

लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बुक क्लोजको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । 

Share News