रूङ्गटा ग्रुपको ओसीबी फुड्सको आम्दानीमा १४८ प्रतिशत उछाल, एक वर्षमै १२ अर्ब रुपैयाँ

काठमाडौं । खाद्य तेल उत्पादन गर्ने ओसीबी फुड्स एण्ड फिड्स प्रालिले एक वर्षमै करिब १२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । सूर्यमुखी, पामोलिन तथा सोयाबिनबाट प्राप्त कच्चा तेललाई प्रशोधन तथा परिष्करण गरी खाने तेल उत्पादन गर्ने ओसीबी फुड्सले सन् २०२५ मा ११ अर्ब ९३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । 

जुन अघिल्लो वर्षको तुलनामा १४८.७३ प्रतिशत अर्थात् ७ अर्ब १३ करोड ५० लाख रुपैयाँ बढी आम्दानी गरेको हो । अघिल्लो वर्ष सन् २०२४ मा कम्पनीले ४ अर्ब ७९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीले सन् २०२३ मा ८ अर्ब १२ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

सन् २०१६ सेप्टेम्बरमा स्थापना भएको ओसीबी फुड्सले बारामा अवस्थित आधुनिक उत्पादन केन्द्रमार्फत खाद्य तेल उत्पादन गर्दै आएको छ । उद्योगको क्षमता वार्षिक १ लाख २० हजार मेट्रिक टन रहेको छ, जसबाट मूख्यतः सोयाबिनबाट तेल उत्पादन गरिन्छ। त्यसैगरी, रिफाइनरी प्लान्टको वार्षिक क्षमता ६० हजार मेट्रिक टन रहेको छ, जसले सूर्यमुखी, पामोलिन तथा सोयाबिनबाट प्राप्त कच्चा तेललाई प्रशोधन गरी खाने तेल उत्पादन गरिरहेको छ । ओसीबी फुड्सले आफ्ना उत्पादनहरू ‘दिव्या’ ब्रान्डबाट बजारमा बिक्री वितरण गर्दै आएको छ ।

ओसीबी फुड्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब ६३ करोड रुपैयाँ ऋण लिएको छ । जसमा १ करोड रुपैयाँ दीर्घकालिन र ७ अर्ब ६२ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।

भारत सरकारले कच्चा तथा प्रशोधित खाद्य तेलमा अपनाएको अनुकूल भन्सार नीतिले आम्दानीमा वृद्धि भएको कम्पनीले जनाएको छ । यद्यपि भारत सरकारले सन् २०२५ जुन ३ देखि कच्चा तेलमा लाग्दै आएको आधारभूत भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि नेपालका खाद्य तेलको व्यापार वृद्धि हुन पुगेको हो । 

खाद्य तेल उद्योगमा लामो अनुभव भएका उद्योग, आन्तरिक बजार तथा निर्यातमा विस्तार हुँदै गएको मार्केटिङ सञ्जाल, उत्पादन केन्द्रको भौगोलिक लाभ तथा मध्यम अवधिमा खाद्य तेलको स्थिर मागले पनि कम्पनीको व्यावसायिक प्रोफाइललाई बलियो बनाएको छ । 

तर, आम्दानीको ठूलो हिस्सा भारत निर्यातमा निर्भर हुनु तथा भारत सरकारको भन्सार नीतिमा हुने परिवर्तनले प्रत्यक्ष असर पार्न सक्ने जोखिम भने उद्योगका लागि चुनौतीको विषय बनेको छ । साथै, मौसमी कृषि उत्पादनको मूल्य उतार-चढाव, विदेशी मुद्राको विनिमय दर जोखिम तथा नियामकीय जोखिमप्रति पनि कम्पनी संवेदनशील रहेको छ ।

ओसीबी फुड्स उद्योग रूङ्गटा ग्रुपको लगानीमा सञ्चालनमा आएको हो । व्यापार व्यवसायमा लामो समयदेखि आबद्ध ओसीबीले अन्य विभिन्न व्यवसाय पनि सञ्चालन गरिरहेको छ । ओसीबी फुड्समा ६ जना अनुभवी व्यवसायी तथा उद्योगपतिहरूको सञ्चालक समिति छ । जसको अध्यक्ष प्रदीप कुमार रूङ्गटा रहेका छन् । उनीसँग खाद्य उद्योग क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव छ । 

Share News