पाँच महिनामा करिब ९ खर्बको वैदेशिक व्यापार, ७ खर्बको वस्तु आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको अवधिमा नेपालले करिब ९ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा नेपालले ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको हो ।

समीक्षा अवधिमा नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशतले बढी हो ।

यस्तै, यस अवधिमा नेपालले १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

आयातको आकार निर्यातभन्दा निकै ठूलो रहेकाले पाँच महिनाको अवधिमा नेपालले ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । यस अवधिमा १ खर्ब ८ अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।

यसमा ४५ अर्ब ६० करोड ६२ लाख रुपैयाँ बराबरको डिजेल, २७ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोल, २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास, ८ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ बराबरको हवाई इन्धन र ४ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम बिटुमिन आयात भएको छ ।

निर्याततर्फ भने पाँच महिनाको अवधिमा सबैभन्दा बढी ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । 

Share News