काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले मन्त्री पदलाई बलेनीको ढुंगासँग तुलना गर्दै जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले सोमबार (आज) आयोजना गरेको राजनीतिक दल, संवैधानिक आयोग र नागरिक समाजसँगको अन्तक्र्रियामा बोल्दै उनले भने, ‘मन्त्री भनेको बलेनीको ढुंगा जस्तै हो । बाहिर जानेले पनि टेक्छ, भित्र जानेले पनि टेक्छ । तर ‘ऐया’ भन्न पाइँदैन ।’
उनले मन्त्रीहरूलाई अहिले धेरै नबोल्न र काममा केन्द्रित हुनसमेत सुझाव दिए ।
उनले भने, ‘अहिले बोल्ने होइन । मुख बन्द गरेर काम गर्नुस् । तपाईंहरूलाई एउटा ऐतिहासिक जिम्मेवारी दिइएको छ, त्यो हो निर्वाचन गराउने । आफ्नो जिम्मेवारी पूरा गर्नुस्।’
पाण्डेले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउनु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै त्यसमा चुके मन्त्री भएर बस्न नैतिक अधिकार नरहने पनि बताए।
‘स्वच्छ र निष्पक्ष निर्वाचन गराउने दायित्व पूरा गर्न सक्नुहुन्न भने मन्त्री भएर नबस्नुस्,’ उनले भने ।