सडक दुर्घटनामा प्याब्सनका कानुनी सल्लाहकार हरिराज भट्टराईको निधन

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिका कानुनी सल्लाहकार हरिराज भट्टराईको सडक दुर्घटनामा परी निधन भएको छ । दुर्घटनामा घाइते भई उपचाररत रहेका भट्टराईको सोमबार दिउँसो २ बजे उपचारकै क्रममा निधन भएको हो ।

लामो समयदेखि प्याब्सन संगठनमा सक्रिय रहँदै आएका भट्टराई एक निष्ठावान्, अनुभवी तथा कुशल कानुनी सल्लाहकारका रूपमा परिचित थिए । उनको असामयिक निधनले प्याब्सन परिवारलाई अपूरणीय क्षति पुगेको प्याब्सनका महासचिव आरबी कटवालले बताए ।

प्याब्सनले उक्त घटनामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रहरूप्रति हार्दिक समवेदना प्रकट गरेको छ । दिवंगत भट्टराईको अन्त्येष्टि सोमबार अपराह्न ५ः३० बजे पशुपति आर्यघाटमा सम्पन्न हुने प्याब्सनका महासचिव कटवालले जानकारी दिएका छन् ।

Share News