बूढीगण्डकी ‘क’ र ‘ख’ निर्माणको तयारी, लागत ८८ अर्ब रुपैयाँ

काठमाडौं । गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । १०३.४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले बताए । उनका अनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवर्द्धन गर्न लागेको हो ।

कम्पनीले ३१ अर्ब ३२ करोड रुपैयाँको लागतमा बूढीगण्डकी ‘क’ र ५६ अर्ब ९९ करोड रुपैयाँको लागतमा बूढीगण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको इञ्जिनियर मगरले जानकारी दिए । बूढीगण्डकी ‘क’ अन्तर्गत, धार्चे-३ को लुस्याङमा बाँध बाँधेर ४ किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा विद्युत् गृह निर्माण गर्ने योजना कम्पनीको छ ।

आयोजना रन अफ द रिभर प्रविधिको हुनेछ । १११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताए । सो आयोजनाको माछाखोलामा उत्पादित विद्युत् १२.७ किलोमिटर ट्रान्समिसन लाइन हुँदै बूढीगण्डकी ख मा जोडिनेछ ।

२२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ को बाँध धार्चे-७ खानीबेंसीमा बाँधिनेछ । त्यहाँबाट ९.५ किलोमिटर सुरुङ हुँदै सोतीमा विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७.९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताए ।

‘यी दुवै आयोजनाको इआइ र पिपिए भइसकेको छ । भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ । आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ,’ उनले भने ।

यहाँ उत्पादन भएको र बूढीगण्डकीबाट प्राप्त भएको गरी ३२९.४ मेगावाट विद्युत् १८.५ किलोमिटर टाढा धादिङको लापास्थित सवस्टेशनमा जोडिने छ ।

Share News