काठमाडौं । भेरी नदीमाथि निर्माण हुने खटाङ–घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुल आयोजनालाई सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा तोकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निर्णय गरी आयोजना राष्ट्रिय प्राथमिकतामा परेको जानकारीसहित राजपत्रमा प्रकाशित गरेको हो ।
सुर्खेत जिल्लाको रणनीतिक महत्त्व बोकेको यस आयोजनाले क्षेत्रीय आवागमन, व्यापार तथा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सरकारले राष्ट्रिय प्राथमिकतामा समेटेसँगै आयोजनाको कार्यान्वयन प्रक्रिया तीव्र हुने विश्वास लिइएको छ ।
भेरी नदी करिडोरलाई जोड्ने यो पुल निर्माणपछि दुर्गम बस्तीहरूलाई सडक सञ्जालसँग जोड्न सहज हुने, स्थानीय उत्पादनको बजार पहुँच विस्तार हुने र आर्थिक गतिविधि चलायमान हुने अनुमान गरिएको छ ।
उक्त पुल २०८३ असारभित्र निर्माण सम्पन्न हुने जनाइएको छ । पुल निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग २०८१ असार ११ गते सम्झौता भएको थियो ।
यो पुल १.६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको हुने बताइएको छ । यो पुल नेपालमा निर्माण सम्पन्न भएका र निर्माण भइरहेका तीन मुखे पुलहरूमध्ये यो सबैभन्दा लामो हो ।
पुल निर्माणको काम २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा श्रीगीता कन्स्ट्रक्सनले पाएको छ ।