काठमाडौं । नेपाल सरकार अन्तर्गतको हुलाक सेवा विभागले समाजसेवी तथा उद्योगी स्वर्गीय ओमप्रकाश गोयलको सम्मानमा १० रुपैयाँ अंकित हुलाक टिकटको प्रथम आवरणमा टाँचा प्रदान गरी लोकार्पण गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमबीच गोयलले नेपाली समाजमा पुर्याएको योगदानको कदर गर्दै यो टिकट सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गोयल फाउन्डेसनका अध्यक्ष तथा स्वर्गीय ओमप्रकाश गोयलका सुपुत्र कैलाशचन्द्र गोयलले आफ्नो पिताको संघर्ष र समाजसेवाप्रतिको समर्पणको स्मरण गरे ।
उनले भने, ‘मेरा पिता एक साधारण परिवारबाट उठेर भारतको हरियाणादेखि नेपालको भद्रपुर हुँदै काठमाडौंसम्म आफ्नो कर्मक्षेत्र बनाए । आफ्नो कमाइको केही हिस्सा समाजसेवामा लगाउनु भन्ने उहाँको प्रेरणाले हामीलाई सधैं दिशानिर्देश गर्यो ।’
कैलाशचन्द्र गोयलले आफ्नो पिताले खानेपानी, स्वास्थ्य, शिक्षा, गौशाला निर्माण र मठमन्दिर स्थापना जस्ता अनगिन्ती सामाजिक कार्यमा जीवनभर सक्रिय रहेको बताए।
उनले भने, ‘बुवाले सुरु गर्नुभएका सामाजिक कार्यलाई निरन्तरता दिन र उहाँको सपनालाई जीवित राख्न हामीले गोयल फाउन्डेसन स्थापना गरेका हौं ।’
कैलाशचन्द्रले आफ्नो पिताको निधनको १८ वर्षपछि सरकारले हुलाक टिकट प्रकाशन गरेर गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै गोयल परिवार सधैं सरकार र हुलाक सेवा विभागप्रति ऋणी रहने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले भौतिक शरीर नष्ट भए पनि असल कर्मले मानिसलाई युगौंसम्म अमर बनाउने बताए ।
उनले भने, ‘आज ओमप्रकाश गोयलजी हुलाक टिकटमा टाँसिनुभएको छ । उहाँ आफ्नो भौतिक शरीरले हामी माझ हुनुहुन्न, तर उहाँले समाजका लागि गर्नुभएको कामले उहाँलाई अमर बनाएको छ। मान्छे साच्चिकै मर्दैन, कर्मले अमर रहन्छ ।’
उनले देशको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाप्रति उद्योगी(व्यवसायीमा रहेको चिन्तालाई स्वीकार गर्दै अब विवेकपूर्ण निर्णय लिने समय आएको पनि बताए ।
उनले भदो २३ र २४ गते आन्दोलनमा सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त देशको सपना देखेर ज्यान दिने युवाहरूको बलिदानले वर्तमान सरकार बनेको स्मरण गराए।
समारोहमा उद्घोषकले गोयलको परोपकारी भावनालाई एक मार्मिक कथामार्फत प्रस्तुत गरेका थिए ।
हुलाक सेवा विभागको आयोजना र गोयल फाउन्डेसनको सह-आयोजनामा सम्पन्न उक्त समारोहमा उपसभामुख इन्दिरा राना मगरलगायत सरकारी अधिकारीहरू, उद्योगी-व्यवसायी तथा समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।