निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन

महासंघमा लैजाने प्रस्ताव कानुन सम्मत छैन

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को साधारण सभा रोक्न पत्र काटेको छ । बुधबारका लागि तय गरिएको ४९औँ वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक्न आदेश दिएको हो ।

आकाश गोल्छा पक्षको उजुरीपछि प्रशासनले मंगलबार नाडालाई पत्र लेख्दै महासंघमा लैजाने प्रस्ताव कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको हाे । साथै नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरेर मात्र साधारण सभा सम्पन्न गर्न प्रशासनले निर्देशन दिएकाे छ ।

‘साधारण सभाको लागि प्रस्ताव गरिएका एजेण्डामा नयाँ कार्यसमितिको चयन सम्बन्धी कुनै प्रस्ताव नराखी सूचना प्रकाशित भएकोले सो साधारण सभामा नयाँ नेतृत्वको लागि निर्वाचन कार्य तालिका प्रकाशन गरी साधारण सभा सम्पन्न गर्न हुन र हाल अस्तित्वमा रहेको नाडालाई नै महासंघमा लैजाने भनि गरिएको प्रस्ताव कानुन सम्मत नभएको हुँदा सो सम्बन्धिt कार्य नगर्नु र नगराउनु हुन आदेशानुसार निर्देशन गरिएको छ,’ पत्रमा भनएिको छ ।
 

null

प्रशासनको पत्रले नाडालाई महासंघ बनाउने विवाद पनि समाधान भएको आकाश गोल्छाले बताए । महासंघ बनाउने नाममा संस्था कब्जा गर्ने र आफ्ना विरोधीहरूलाई पाखा लगाउने अध्यक्ष करण चौधरीको षड्यन्त्र अन्त्य भएको गोल्छाले बताए । 

गोल्छाका अनुसार नाडालाई महासंघमा लैजाने एजेण्डा नयाँ होइन, तर यसलाई अघि सार्ने समय र मनसाय भने शंकास्पद हो । 

गोल्छा भन्छन्, ‘ध्रुव थापा अध्यक्ष हुँदा नै वैश्विक संरचनामा जाने योजना थियो, तर विभिन्न कारणले भएन । करण चौधरीले कार्यकाल सम्हालेको डेढ वर्षसम्म यसबारे एउटा पनि बैठक गरेनन् । अटो शो सम्म पनि महासंघको चर्चा थिएन। तर जब कार्यकाल सकिन लाग्यो, अचानक यो एजेण्डा ल्याइयो ।’

अध्यक्ष चौधरीले महासंघको प्रस्ताव नाडाको उचाइका लागि नभई आफ्नो शक्ति टिकाउनका लागि ल्याएका गोल्छाको दाबी छ ।

 ‘महासंघ बनाएपछि वर्तमान कार्यसमिति भंग गरी ३ जनाको तदर्थ समिति बनाउने र त्यसमा आफ्ना मान्छे मात्र राखेर अरू सबैलाई हटाउने उनको योजना छ। यो नाडा सुधार्ने प्रयास होइन, षड्यन्त्र हो,’ उनले भने ।

गोल्छाले नाडामा अहिले मौलाएको प्रवृत्तिलाई अराजकताको संज्ञा दिए ।

‘हामी महासंघको विरोधी होइनौ, तर नाडा महासंघ बन्न सक्दैन, यो त महासंघको सदस्य मात्र बन्न सक्छ । यदि करण चौधरीलाई महासंघ बनाउनु नै थियो भने कार्यकालको सुरुमै वा असारभन्दा अघि विशेष साधारण सभा किन गरेनन् ? अहिले निर्वाचनबाट भाग्नका लागि यो प्रपञ्च रचिएको हो,’ गोल्छाले आक्रोश पोखे ।

उनले थपे, ‘अहिले जे हुँदैछ, त्यो विधान विपरीत छ। निर्वाचन नगर्ने र तदर्थ समितिमार्फत संस्था कब्जा गर्ने दाउपेच विरुद्ध हामी लडिरहन्छौँ ।’

विवाद र प्रशासनको पत्रका बाबजुद नाडा नेतृत्वले भने बुधबारको साधारण सभालाई निरन्तरता दिने संकेत गरेको छ । नाडाले विज्ञप्ति जारी गर्दै बाहिर आएका समाचारलाई निराधार हल्ला भनेको छ । तर, निर्वाचन तालिका बिना नै हुन लागेको यो साधारण सभाले नाडालाई झन् ठूलो कानुनी संकटमा धकेल्ने निश्चित छ ।

२०८२ पुस २० गते चुनिएको वर्तमान कार्यसमितिको म्याद पुस १९ गते सकिँदैछ । नियमत: यो साधारण सभाले नयाँ नेतृत्व छानिसक्नुपर्ने थियो । तर, नेतृत्वको इगो र सत्ता मोहका कारण अटोमोबाइल क्षेत्रको यो प्रतिष्ठित संस्था अहिले अनिर्णयको बन्दी बनेको छ ।

नाडाको विधानअनुसार हरेक दुई वर्षमा नयाँ नेतृत्वका लागि निर्वाचन हुनुपर्छ । २०८० पुस २० गते चुनिएको वर्तमान कार्यसमितिको कार्यकाल आगामी पुस १९ गते सकिँदैछ । विधानतः साधारण सभा हुनु १५ दिनअघि नै निर्वाचन तालिका सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । तर अध्यक्ष चौधरीले निर्वाचनको एजेण्डालाई थाँती राखेर महासंघ बनाउने प्रस्तावलाई प्राथमिकता दिएपछि विवादले उग्र रूप लिएको हो ।​​​​​​

Share News