विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ बिक्री गर्ने, १ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री गर्ने भएको हो ।

साविकको नयाँ सारथी र विजय लघुवित्तको मर्जर पश्चात् बनेको विजय लघुवित्तको हाल कायम चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनी समूहको ७४.३९ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको २५.६१ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

सोही व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनी समूहको सेयर स्वामित्व न्यूनतम ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारीपश्चात् लघुवित्तको जारी तथा चुक्ता पुँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँ पुग्नेछ ।

लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयरमा पुस २४ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा माघ ५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

Share News